लुम्बिनीको ‘टुर गाइड एप’ बनाउँदा कमिसनको खेल, डेमो हेरेरै ७५ लाख भुक्तानी, एप भने बनेन

बुटवल : कुनै पनि सरकारी अड्डामा काम सम्पन्न नगरी भुक्तानी पाइँदैन। अझ कतिपय ठाउँमा त काम सम्पन्न भए पश्चात् पनि भुक्तानी लिन गाह्रो छ।
आर्थिक ऐनले पनि काम सम्पन्न नगरेको कुनै पनि कम्पनी, परामर्शदाता वा सप्लायर्सलाई सम्झौतामा उल्लेख गरिएको पेस्की बाहेकको रकम भुक्तानी दिन नमिल्ने व्यवस्था गरेको छ।
तर लुम्बिनी प्रदेशमा त्यसको ठीक उल्टो काम सम्पन्न नहुँदै निर्माण कम्पनीलाई पूरा रकम भुक्तानी भएको पाइएको छ।
लुम्बिनी प्रदेशमा थ्रीडी भर्चुअल टुर गाइड (डकुमेन्ट्री) सहितको एप्लिकेसन बनाउने भन्दै ३ वर्षअघि नै निर्माण कम्पनीलाई भुक्तानी दिइए पनि अहिलेसम्म उक्त एप नै मन्त्रालयसम्म आइपुगेको छैन।
लुम्बिनी प्रदेशको तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा भिडिओ टुर गाइड बनाउने भन्दै यसको जिम्मा ७५ लाखमा ललितपुरको सानेपामा कार्यालय रहेको पिकासो ईन्फो डेभलोपर्स सट्याक जेभीलाई दिएको थियो।
आन्तरिक एवं बाह्य पर्यटकलाई लक्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेशका प्रमुख पर्यटकीय स्थल, धार्मिक, ऐतिहासिक एवं होटेल र यातायात क्षेत्रलाई समेट्ने भन्दै मन्त्रालयले थ्रीडी भर्चुअल टुर गाइड एप्लिकेसन निर्माण गर्ने योजना बनाएको थियो।
उक्त भर्चुअल टुर गाइड एप्लिकेसन बनाउन मन्त्रालयले पिकासोसँग १० वैशाख २०७७ मा असार मसान्तभित्र नै कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो।
कम्पनीले यो गाइड बनाउँदा पाउनुपर्ने सबै रकम २०७७ असार मसान्त अघि नै लगेको भए पनि अहिलेसम्म थ्रीडी भर्चुअल टुर गाइड एप्लिकेसन बनेको छैन।
लुम्बिनी प्रदेश सरकारले एप्लिकेसनका लागि १ करोड रुपैयाँ विनियोजन गरेकोमा पिकासोलाई ७५ लाखमा एप्लिकेसनको काम गर्न दिएको थियो।
निर्माण सम्पन्न नहुँदै २०७७ असारमा भुक्तानी लगेको पिकासो त्यो बेला पनि आलोचित भएको थियो। आलोचना पछि २०७७ असोजमा पिकासोले भर्चुअल टुर गाइड एप्लिकेसन मन्त्रालयमा बुझाउने प्रतिबद्धता समेत जनाएको थियो।
तर अहिले ३ वर्ष पुग्दा पनि यो एप्लिकेसन मन्त्रालयमा छैन। मन्त्रालयले सार्वजनिक रुपमा सबैले प्रयोग गर्न मिल्ने भनेको टुर गाइड डकुमेन्ट्री अहिले कुनै पनि अधिकारीले मन्त्रालयमा भएको पुष्टि गर्न सकेनन्।
सामाजिक सञ्जाल र मन्त्रालयकै वेबसाइटमा पनि यो भर्चुअल टुर गाइड (डकुमेन्ट्री) भेटिंदैन।
पर्यटन मन्त्रालयका पर्यटन महाशाखा प्रमुख डिल्लीराज बेल्बासे मन्त्रालयमा थ्रीडी भर्चुअल टुर गाइड भएको बारे अनविज्ञता प्रकट गरे। उनले यस बारे आफूलाई केही जानकारी नभएको बताए।
आफू हालै मात्र मन्त्रालयमा आएको भन्दै उनले अन्य कर्मचारीलाई सोधपुछ गरेपछि यस बारेमा थप जानकारी पाइने बताए।
डेमो देखाएकै भरमा पटक पटक भुक्तानी
उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश बुटवलमा यस भर्चुअल टुर गाइड एप्लिकेसन निर्माणकर्ताले २०७७ असार २९ मा थ्रिडी डेमो देखाएका थिए।
भिडियोसहित सम्पूर्ण ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलहरूको थ्रिडि राखिने भनेर डेमो मन्त्रालयमा देखाइएको थियो। त्यो बेला बुद्धसँग सम्बन्धित लुम्बिनी, रामग्राम र तौलिहवाका केही स्थानका ड्रोनले खिचेका फुटेजहरू समावेश गरिएको थियो।
उक्त भिडियो खिच्ने एक जनालाई २० हजार मात्र रुपैयाँ दिएर निर्माण कम्पनीले ड्रोन भिडियो खिचाएको थियो। तर, लकडाउनका बीचमा सम्झौता गरेर लकडाउनमै कार्य सम्पादन सकिने अवस्था नहुँदा समेत मन्त्रालयबाट भने डेमो देखाएकै भरमा एप्लिकेसन निर्माणकर्ता पिकासो ईन्फो डेभलपर्स सट्याक जेभीलाई पटक पटक भुक्तानी दिइएको छ।
मन्त्रालयको लेखा शाखाका अनुसार कम्पनीले असार ३० गते ५२ लाख २२ हजार ५ सय ६५ र अर्को पटक २२ लाख ३८ हजार २ सय ४२ रुपैयाँ लगेको छ। त्यो समयका मन्त्रालयका लेखा अधिकृत मुकुन्दप्रसाद पराजुलीले माथिबाटै तोक र टिप्पणी आएपछि आफूले भुक्तानी दिइएको बताए।
देश कोरोना संकटमा जुधिरहेका बेला हतारहतारमा बजेट सक्नका लागि निर्माण गरिएको एप्लिकेसनबाट मन्त्रालयकै कर्मचारीलाई ६० प्रतिशत कमिसन दिइने भएपछि यो भुक्तानी दिइएको स्रोतले जनाएको छ।
एप्लिकेसन बनाउने पिकासो ईन्फो डेभलोपर्स सट्याक जेभीलाई ४० प्रतिशत र त्यहाँका कर्मचारीलाई ६० प्रतिशत दिने गरी भुक्तानी दिइएको स्रोतले बताएको छ।
लुम्बिनी प्रदेश पर्यटन पूर्वाधार कार्यालयका प्रमुख रामु जोशीले प्रदेश सरकारले बनाएको भनिएको भर्चुअल टुर गाइड आफूले प्राप्त नगरेको बताए। यसको विवरण मन्त्रालयमा माग गरे पनि यो गाइडको सामग्री आफूलाई नआएको उनले बताए।
साउन १६, २०८० मंगलबार १५:०३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।