कोशीमा गठबन्धनको बहुमत पुर्याउन सभामुखले राजीनामा दिने, मुख्यमन्त्रीका लागि आज दाबी पेस हुने
विराटनगर : कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि पछिल्लो समयमा गरेको आह्वानको समय सीमा मंगलबार समाप्त हुँदैछ।
उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गरेको समय आज अपराह्न ५ बजे समाप्त हुँदैछ।
उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद छन्।
गठबन्धन इतरतर्फ एमालेका ४० र राप्रपाका ६ जना सांसद एक ठाउँमा देखिएका छन्। कूल ९३ सदस्यमा बहुमत पुर्याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्छ।
त्यसैले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए।
उनले गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताए।
साउन १६, २०८० मंगलबार १३:३५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।