विप्लवका नेता सिंहको मुद्दा ३ वर्षपछि उच्च अदालतले उल्ट्यायो, पक्राउ पुर्जी जारी

विप्लवका नेता सिंहको मुद्दा ३ वर्षपछि उच्च अदालतले उल्ट्यायो, पक्राउ पुर्जी जारी

झापा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज सुमनसिंह विरुद्ध उच्च अदालत बिराटनगर र धनकुटा इजालसले १५ दिने सुचना निकाल्दै पुर्जी जारी गरेको छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकार सँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा अवतरण भएको ३ वर्षपछि विप्लव नेकपाका प्रभावशाली युवा नेता सिंहलाई तीन बुँदे सहमति विपरीत पुर्जी जारी गरेसँगै नेकपाका नेता कार्यकर्ता आक्रोशित बनेका छन्।

नेता सिंह विरुद्धको म्याद तामेली हिजो आइतबार उनको निवासमा पुगेको उनका बुवा गणेशबहादुर पौडेलले जानकारी दिए। यस विषयमा नेता सिंहसँग बुझ्दा उक्त मुद्दामा २०७७ सालमा नै जिल्ला अदालत संखुवासभाले सफाइ दिइसकेको र हाल आएर सरकारी वकिलले नै मुद्दा बिउँताउनुमा पश्चिमा शक्तिहरूको ठुलो षड्यन्त्र रहेको उनले बताए।

सिंहले भने- ‘खासगरी नेकपा सहितको समाजवादी मोर्चा गठन र यसले चाल्न लागेको कदमबाट देशीविदेशी दलालहरु अत्तालिएर यो प्रोपोगन्डा निकालिएको छ। यो राज्यले आफैँले गरेको निर्णय र सम्झौता विपरीत पक्राउ पुर्जी जारी गर्ने कदम जुन चालेको छ, यसलाई हाम्रो पार्टीको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ। तुरुन्तै यो कदम नसच्याए हामी जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौं।’

उक्त मुद्दामा नेता सिंह सँगै नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड लगायत दर्जनौं नेताहरूको नाममा रहेको थियो भने जिल्ला अदालत संखुवासभाले नेता सिंहसहित नेकपा नेतृ उमा भुजेल, माइला लामा, दिपेश राई, अनिल शर्मा, पुष्प कोइराला लगायतका नेताहरूमाथिको अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको थियो।

तत्कालीन केपी ओली नेतृत्वको सरकार सँग तीनबुदे सहमति गर्दा पनि नेपाल सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको थियो।

उक्त सहमति पत्रमा नेपाल सरकारका तर्फबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराई तथा नेकपाका तर्फबाट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने दीपक लगायतले हस्ताक्षर गरेका थिए।

साउन १५, २०८० सोमबार २२:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।