लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ले पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताएका छन्।

कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

लम्पी स्किनको बारेमा यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताउँदै प्रधानमन्त्रीले कृषि र अर्थसँग पशुहरूमा लागेको रोगको विषयमा भएको कुराको प्रचारसार नभएको समेत बताए।

लम्पी स्किन रोग यसअघि दुई वर्ष अगाडि नै भारत र चीनमा देखिएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्ड यो रोग यसअघि देखिएका छिमेकी देशहरूबाट सिकेर बेलैमा नेपालमा तयारी गर्न नसक्नु कमजोरी भएको बताए।

प्रधामन्त्री प्रचण्डले भने, ‘छिमेकी देशमा यो रोग दुई वर्ष अगाडि नै देखिएको थियो। हामीले त्यसबाट सिकेर पूर्वतयारी गर्नुपर्ने हुन्थ्यो, हाम्रा यसअघिका कदमहरूमा कमजोरी भएका कारण अहिले हामीले लम्पी स्किनको महामारी भोगेका छौं र छति पनि।’

आगामी दिनमा पनि यी र यस्तै समस्या आउँन सक्छन् भनेर पूर्व तयारी गर्नुपर्नेमा कृषि मन्त्रालय र पशु सेवा विभागकाे ध्यानाकर्षण गराए।

प्रधामन्त्रीले बैठकमा भने, ‘अहिले राहत रोग नियन्त्रणमा काम तत्काल गरौँ, आगामी दिनमा पनि यी र यस्ता समस्या आउँन सक्छन् भनेर भन्नेमा पूर्वतयारीलाई बलियो बनाउने तर्फ ध्यान दिऔँ र सोही अनुसार योजना बनाऔँ।’

चीन र भारतको प्राक्टिस र विभिन्न अनुसन्धानबाट लम्पी स्किन रोग नियन्त्रणका लागि गोट पक्स भ्याक्सिन लगाउनु उपयुक्त देखिएको हुँदा नेपालमा पनि सो खोपको प्रयोग गर्न खुला गर्ने र त्यसमा संघ,प्रदेश र स्थानीय तह परिचालित हुनुपर्ने बताए।

लम्पी स्किन रोगले गरिब किसान मारमा परेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘गाईभैँसी पाल्ने किसान गरिब र निम्म वर्गका नै हुन्छन् लम्पी स्किन रोगले सो वर्गका किसानलाई निकै ठुलो समस्यामा पारेको छ। किसानहरुलाई राहत दिने गरी छिट्टै मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्छ।’

किसानलाई राहत दिनुका साथै हाल निःशुल्क रूपमा गोट पक्स भ्याक्सिन संघ,प्रदेश र स्थानीय तहले उपलब्ध गराउने गरी तयारी थाल्न उहाँले कृषि मन्त्रालयलाई निर्देशनसमेत दिए।

लम्पी स्किन रोग नियन्त्रणका लागि खोप को प्रयोगसँगै जनचेतना जगाउन प्रचारप्रसार गर्ने, पशु आहारमा ध्यान दिनेबारे पनि किसानहरुमा सचेतना फैलाउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाई थियो।

साउन १५, २०८० सोमबार २२:०३:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।