काठमाडौंबाट दिल्ली उडेको अपहरित विमानका चालक भन्छन्- ‘विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ’

काठमाडौंबाट दिल्ली उडेको अपहरित विमानका चालक भन्छन्- ‘विमानस्थलको सुरक्षाका लागि बेग्लै बल चाहिन्छ’

एजेन्सी : सन् १९९९ को डिसेम्बर २४ मा काठमाडौंबाट नयाँदिल्लीका लागि उडेको एयर इन्डियाको अपहरित विमानका चालक देवी शरणले विमानस्थलको सुरक्षाका निम्ति बेग्लै सुरक्षा बल अपरिहार्य भएको बताएका छन्।

सेवा निवृत्त शरणले आईसी ८१४को अपहरणपछि विमानस्थलको सुरक्षाका निम्ति बेग्लै एयरपोर्ट सेक्युरिटी फोर्स (एएसएफ)को अवधारणा अघि बढाइएको भए पनि कार्यान्वयन नआएको उल्लेख गर्दै अझै त्यस्तो सुरक्षा दस्ता अत्यावश्यक रहेको बताए।

उड्डयन सुरक्षा एवं संस्कृति सप्ताहका अवसरमा नयाँदिल्लीमा सोमबार भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपहरण गरिएको विमान पञ्जाबमा अवतरण गर्दा अमृतसर पुलिस र एयरपोर्टका सुरक्षा अधिकारी कतिसम्म लाचार छन् भन्ने तथ्य बुझेको बताए।

‘अपहरण भएको विमान अमृतसरमा अवतरण गर्दा अमृतसर विमानस्थलको सुरक्षा जिम्मेवारी स्थानीय प्रहरीसँग थियो, तिनीहरू कतिसम्म लाचार थिए देखिहालियो,’ उनले भने, ‘यदि विशेष दल भैदिएको भए स्थिति नियन्त्रण गर्न र अपहरणकर्ताले उडानलाई पाकिस्तान लैजाऊ भन्दा कारबाही गर्न सकिन्थ्यो।’

उक्त घटनापछि विमानस्थलका लागि बेग्लै सुरक्षा बलको सुझाव आए पनि त्यसलाई कार्यानवयन गरिएन। भविष्यमा त्यस्ता अप्रिय अवस्थाको सामना गर्नु नपरोस् भन्ने उद्देश्यका साथ बेग्लै सुरक्षा बल आवश्यक भएको उनले दोहोर्याए।

मखुण्डो लगाएका पाँच जना पाकिस्तानी उग्रवादीले एक सय ७६ यात्रु बोकेको एयरबसलाई  काठमाडौंबाट अमृतसर, त्यसपछि पाकिस्तानको लाहोर अनि संयुक्त अरब इमिरेट्सको दुबई र अन्ततः तालिवानको केन्द्रबिन्दु अफगानिस्तानको कान्दाहारसम्म पुर्याएका थिए ।

यात्रीको भेषमा रहेका अपहरणकारीले एक जनाको हत्या गरेभने दुवईमा २७ जनालाई छाडेका थिए। भारतले तीन जना आतङ्कवादी मुश्ताक अहमद जरगर, अहमद उमर सईद शेख र मसूद अजहरलाई रिहा गर्न सहमत जनाएपछि विमान अपहरण र यात्री बन्धक सङ्कट सात दिनपछि टुङ्गिएको थियो।

विमानमा चालक दलका १५ जना सदस्य थिए।

साउन १५, २०८० सोमबार १९:५२:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।