‘शकुन्तला’ फ्लप भएपछि बहकिएका राजेश : फिल्म खेल्दैनन्, म्युजिक भिडियो र विदेश भ्रमण छाड्दैनन्
काठमाडौं : अभिनेता राजेश हमालको हातमा अहिले एउटा पनि फिल्म छैन। ठूलो लगानीमा बन्ने भनिएको फिल्म ‘सत्यम्’ पनि बन्ने छाँटकाँट नभएपछि उनले नयाँ फिल्म साइन गरेका छैनन्।
‘सत्यम्’ले फिल्मलाई ‘रोमियो’ फेम्ड निर्देशक शंकर कार्कीले निर्देशन गर्ने भनिएको थियो। हमालले यो फिल्मका लागि निर्माण टिमसँग आठ महिना लामो छलफलपछि काम गर्न तयार भएका थिए।
फिल्म बन्ने नबन्ने अन्योल भएपछि हमाल अहिले धमाधम म्युजिक भिडियो र देश तथा विदेश भ्रमण छन्। पछिल्लो समय उनी मुख्य भूमिकामा रहेको ‘शकुन्तला’ फिल्म रिलिज भएको थियो। तर, दर्शक तानेन। फ्लप भयो।
सांकृतिक कार्यक्रममा नै भ्याइनभ्याइ
अमेरिकाको विभिन्न शहरमा भएको सांस्कृतिक कार्यक्रममा सहभागी भएर उनी बुधबार स्वदेश फर्किए। उनी करिब एक महिना अमेरिका बसे।
नेपाल आएको भोलिपल्टै हमाल देवेन्द्र पाण्डेको नृत्य निर्देशनमा बनेको तीज गीत ‘आफ्नो घर आँगनमा नाच फरर’को भिडियोमा नाचे। भावना आचार्य र डेभिड शंकरले गाएको गीतमा नाचेपछि केहि भिडियोका लागि उनलाई अफर आयो।
तर, तत्काल उनलाई फुर्सद छैन। उनी फेरि सांगितिक कार्यक्रमका लागि मंगलबार कतार जाँदैछन्। त्यहाँ उनकी श्रीमती मधु भट्टराई पनि साथमै हुनेछिन्। अगस्ट ६ तारिखमा स्वदेश फर्किने हमालले १६ तारिखमा एउटा राष्ट्रिय भावको गीतमा अभिनय गर्दैछन्।
उनका सहयोगी राम ठाकुरका अनुसार अहिले राजेशको व्यस्तता म्युजिक भिडियो र विभिन्न कार्यक्रममा नै रहेको छ।
उनले भने, ‘अहिले राजेश दादाको व्यस्तता भनेको म्युजिक भिडियो र विभिन्न कार्यक्रममा सहभागीता जनाउने मात्रै भइरहेको छ। फिल्ममा भने अहिले काम गर्ने कुरा भएको छैन।’
गायक बनेका हमाल
गायनमा समेत सौखिन राजेश हमालले एक वर्षअघि आफ्नै एकल स्वरमा ‘गाउँले ठिटो’ नामक गीत गाएका थिए। विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका हमाल अघिल्लो फागुन महिनामा आफ्नै आवाजमा भिडियो सहित दर्शकमाझ आएका थिए।
उक्त गीतमा गोविन्द भट्टको शब्द रचना तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ। गीतमा अभिनेता हमाल गाउँले भेषभूषामा देखिएका छन्। हमालले आफूलाई मन परेको गीत विभिन्न कार्यक्रममा गुनगुनाउँदै आएका थिए। उनले फेरि गीत गाउने कि नगाउने भन्ने बारेमा अहिलेसम्म पक्का गरेका भने छैनन्।
साउन १५, २०८० सोमबार १९:३१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।