दुई करोड ६० लाख रुपैयाँ सहकारीमा फसेपछि बसुन्धरा भुषाल र चैत्यदेवी सिंह अनसनमा

दुई करोड ६० लाख रुपैयाँ सहकारीमा फसेपछि बसुन्धरा भुषाल र चैत्यदेवी सिंह अनसनमा

काठमाडौं : सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडबाट पुराना दुई कलाकार पीडित बनेका छन्। 

बसुन्धरा भुसाल र चैत्यदेवी सिंह आफ्नो पैसा फिर्ता माग गर्दै माइतीघर मण्डलामा अनसनमा बसेका छन्। सहकारीमा राखेको २ करोड ६० लाख रुपैयाँ फिर्ताको माग गर्दै उनीहरू सोमबार काठमाडौंको माइतीघर मण्डलमा दिउँसो ३ देखि राति १० बजेसम्म रिले अनशनमा बसेका हुन्। 

सहकारीमा आफ्नो फसेको पैसा उठाइदिन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'देखि पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मालाई समेत उनीहरूले गुहारेका थिए।

एक महिनाअघि केपी शर्मा ओलीकै निवास बालकोट पुगेर पैसा उठाइदिन उनीहरूले आग्रह गरेका थिए। तर, कतैबाट पनि सुनुवाइ नभएपछि उनीहरू सहकारी पीडितसँगै अनसन बनेका हुन्। 

अनसन बसेकी चैत्यदेवीले भनिन्,‘सहकारीले पैसा खाएपछि हाम्रो बिजोग भएको छ। गाँसबास नै उठ्यो। जम्मा गरेको पैसा माग्दा सहकारीले दिँदैन। घर चलाउन नै मुस्किल भएपछि सरकारलाई दबाब दिन अनसन बस्न बाध्य भएका हौँ।’ 

यस सहकारीका उनको मात्रै ६३ लाख रुपैयाँ फसेको छ। 

अर्की अभिनेत्री भुषालले न्याय माग्दै प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेतालाई भेट्दासमेत आफ्नो मर्काको सुनुवाइ नभएपछि बाध्य भएर अनसन बस्नुपरेको बताइन्। 

आफूहरू बाध्यताले रिले अनसन बस्नु परेको उनले दुःखेसो गरिन्। 

उनीहरूका अनुसार सहकारीमा भुवन-चैत्य बसुन्धरा फाउण्डेसनको अक्षयकोषको १५ लाख रुपैयाँसमेत फसेको छ। सहकारीमा पैसा फसेकाले फाउन्डेसनले बर्सेनि दिँदै आएको डेढ लाख रुपैयाँ राशिको पुरस्कार वितरण हुन सकेको छैन।

साउन १५, २०८० सोमबार १७:३१:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।