समयमै न्यायाधीश नियुक्ति गर्न मानव अधिकार आयोगको आग्रह

समयमै न्यायाधीश नियुक्ति गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले न्यायालयहरूमा समयमै न्यायाधीश नियुक्त गर्न सरकारसँग आग्रह गरेको छ।

सर्वोच्च अदालतमा विगतमा लामो समय प्रधानन्यायाधीश पद रिक्त रहेको तथा पुनः रिक्त हुने अवस्था सिर्जना हुन लागेको एवं सर्वोच्च अदालत र उच्च अदालतमा समेत रिक्त रहेका न्यायाधीशहरूको नियुक्ति प्रक्रियाका लागि सरकारबाट समयमै पहल हुन नसकेको भन्दै उसले यस्तो आग्रह गरेको हो।

सोमबार विज्ञप्ति निकालेर आयोगले न्यायाधीश नियुक्ति हुन नसक्दा छिटो छरितो न्याय पाउने नागरिकको अधिकारको उपभोगमा प्रत्यक्ष असर परिरहेको र सबै सर्वसाधारण नागरिकको न्यायिक अधिकारको उपभोगमा अवरोध सिर्जना भएको ठहर गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको छिटो छरितो न्याय प्राप्त गर्ने अधिकारको सम्मान गर्दै संवैधानिक व्यवस्था बमोजिम प्रधानन्यायाधीश नियुक्ति प्रक्रियालाई समयमै अगाडि बढाउन एवं अन्य सबै अदालतहरूमा न्यायाधीशहरूको नियुक्तिमा संवेदनशील हुन आयोग नेपाल सरकार तथा सम्बन्धित निकायको गम्भीर ध्यानार्षकण गराउँदछ।’

साउन १५, २०८० सोमबार १७:१५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।