राजधानीमा सयवटा फार्मेसी अनुमगन गर्दा स्वीकृति लिने एउटा मात्र : स्वास्थ्य मन्त्री

राजधानीमा सयवटा फार्मेसी अनुमगन गर्दा स्वीकृति लिने एउटा मात्र : स्वास्थ्य मन्त्री

काभ्रे : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य नीति लागू गराएरै छाड्ने बताएका छन्।

काभ्रेपलाञ्चोक स्थित धुलिखेल अस्पतालद्वारा सोमबार आयोजित कार्यक्रममा यसअघि स्वास्थ्य क्षेत्रको प्रयास अपर्याप्त भएकाले द्रुतगतिमा स्वास्थ्य नीति लागू गराउने आफ्नो प्रयास रहको उनले बताए।

‘यसअघिका स्वास्थ्य क्षेत्रका प्रयास अपर्याप्त देखिए, हामी यसमा प्रयासरत छौं,’ उनले भने। स्वास्थ्य क्षेत्रमा सुधार गर्न धेरै काम बाँकी रहेकाले आफू उक्त काममा दृढतापूर्वक लागेको उनको भनाइ छ।

‘कर्मचारी दुर्गम जान नमान्ने, शक्तिको आडमा राजधानी र छेउछाउको जिल्ला मात्रै बस्न खोज्ने प्रवृत्तिलाई निमर्मताका साथ परास्त गरेको छु, अहिले चिकित्सक लगायत स्वास्थ्यकर्मी सरुवा र बढुवाका लागि मन्त्रालय धाउन छाडिसकेका छन्, अन्य विकृति हटाउन पहल गर्छु,’ उनले थपे।

चिकित्सकलाई तनावमुक्त भएर उपचार सेवामा लाग्न उनले आग्रह समेत गरे । मन्त्री बस्नेतले हालैको अनुगमनबाट राजधानीका अधिकांश फार्मेसी बिना स्वीकृति, बिना अध्ययन र बिना अनुभवीद्वारा सञ्चालनमा आएको देखिएको बताए।

उनले फार्मेसिष्टभन्दा दोब्बर फार्मेसी सञ्चालनमा आएको देखिएको उल्लेख गर्दै एक सय फार्मेसी अनुमगन गर्दा एउटाले मात्र स्वीकृति लिएर सञ्चालन गरेको पाइएको बताए। 

आगामी दुई वर्षभित्र गरिब तथा विपन्नलाई स्वस्थ्य सेवा तथा पाँच वर्षभित्र सम्पूर्ण उपचार निःशुल्क गर्ने योजना बनाएको पनि उनले बताए।

साउन १५, २०८० सोमबार १६:५९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।