साउन दोस्रो सातासम्म देशभर मात्र ७७ प्रतिशत रोपाइँ

साउन दोस्रो सातासम्म देशभर मात्र ७७ प्रतिशत रोपाइँ

काठमाडौं : साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत  रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।

गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलले जानकारी दिए। 

देशभर १३ लाख ५७ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ। जसमध्ये हालसम्म १० लाख ५३ हजार चार सय चार हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको केन्द्रले जनाएको छ।

यस वर्ष कोशी प्रदेशमा ८४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ। सो प्रदेशमा गत वर्ष यही समयमा ८८ प्रतिशत भूभागमा धान रोपाइँ सम्पन्न भएको थियो।

मधेस प्रदेशमा हालसम्म ५९ प्रतिशत, बागमती प्रदेशमा ७२ प्रतिशत, गण्डकी प्रदेशमा ८२ प्रतिशत, लुम्बिनी प्रदेशमा ८१ प्रतिशत र कर्णाली प्रदेशमा ८५ प्रतिशत रोपाइँ सकिएको छ।

सुदूरपश्चिम प्रदेशमा भने हालसम्म ९९ प्रतिशत धान रोपाइँ सकिएको छ। सो प्रदेशमा गत वर्ष पनि यही समयमा ९९ प्रतिशत नै रोपाइँ सकिएको थियो।

साउन १५, २०८० सोमबार १६:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।