आफ्नो माग पूरा नभए सत्याग्रह गर्ने डा. केसीको अर्को चेतावनी, यस्ता छन् माग

आफ्नो माग पूरा नभए सत्याग्रह गर्ने डा. केसीको अर्को चेतावनी, यस्ता छन् माग

काठमाडौं : बेलाबेलमा अनसन बसिरहने डा. गोविन्द केसीले फेरि सत्याग्रह गर्ने चेतावनी दिएका छन्। 

सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफ्ना माग पूरा नभए साउन २९ गतेदेखि पुनः अनसन बस्ने चेतावनी दिएका हुन्।

स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै आन्दोलन गरिरहेका उनले राज्यले धेरै महत्वपूर्ण सम्झौता कार्यान्वयन नगरेको आरोप लगाएका छन्।

आफ्नो आन्दोलनका कारण विभिन्न सुधार भए पनि सुधारका काम मेडिकल माफियाको स्वार्थमा उल्ट्याउने काम भइरहेको उनले बताए। 

डा. केसीले सीटीईभीटीको सिट निर्धारण र विद्यार्थी भर्नासम्बन्धी अवैध निर्णय खारेज गर्न, दोषी पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्।

उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्तिका लागि एक हप्ताभित्र सिफारिस समिति बनाउन र हालका उपाध्यक्षको पदावधि सकिनु अगाडि नै छनोटको प्रक्रिया टुंग्याएर आयोग एक दिन पनि नेतृत्वविहीन नहुने गरी नियुक्ति गर्न सरकारलाई अल्टिमेटम दिएका छन्।

यीसहित शुल्क बढाउनेसम्बन्धी सीटीईभीटीको निर्णय खारेज गर्ने सबै प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान पुर्याउने तथा संचालनमा ल्याउने, एकिकृत स्वास्थ्य शिक्षा (विज्ञान) प्रतिष्ठान र पदाधिकारी नियुक्तिको मापदण्डसम्बन्धी कानुन बनाउने माग उनको छ।

साथै उनले चिकित्सा शिक्षालाई नाफारहित बनाउने र स्वार्थको द्वन्द्व रोक्न काननुनी व्यवस्था गर्ने, सरकारी अस्पतालहरूमा विद्यमान शय्याअनुरूप स्थायी दरबन्दी व्यवस्था गर्ने, सरकारी स्वास्थ्य संस्थाबाट नि:शुल्क औषधि तथा उपचार प्रदान गर्नु पर्ने कानुनी प्रावधान कडाइका साथ लागु गर्नेलगायत २०७९ असोज ८ गते तथा विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन्।

यी सबै माग पूरा नभए यही साउन २९ गतेदेखि सत्याग्रह सुरु गर्ने उनले बताए।

साउन १५, २०८० सोमबार १४:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।