सुन तस्करीको संसदीय छानबिन समिति बनाउन माग गर्दै वर्षमानले भने : तस्करीको कुनै पार्टी हुँदैन

सुन तस्करीको संसदीय छानबिन समिति बनाउन माग गर्दै वर्षमानले भने : तस्करीको कुनै पार्टी हुँदैन

काठमाडौं : माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी प्रकरणमा छानबिनका लागि संसदीय समिति वा विशेष समिति बनाउन माग गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा उनले भ्रष्टाचार, तस्करी र अनियमिततामा संलग्न कसैलाई उन्मुक्ति दिन नहुने बताए। 

उनले भने, ‘अनुसन्धानमा विज्ञ निकाय, न्यायिक वा संसदीय छानबिन समिति जे उपयुक्त हुन्छ बनाएर हुन्छ यो प्रकरणको छानबिन हुनैपर्छ। हामी नेताहरु, हाम्रा आफन्तहरु वा जसजसको अपराधमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ।’ 

उनले छानबिनमा दोषी देखिए आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको र अरु नेता पनि तयार हुनुपर्ने बताए, ‘तस्करी र अपराधीको कुनै पार्टी र नाता हुँदैन। देशद्रोहमा संलग्न जो कोही भए पनि उन्मुक्ति दिन हुँदैन, म नै किन नहोउँ।’ 

उपमहासचिव पुनले सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका तिब्बतीमुलका बेल्जियन नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको पनि उनले बताए। 

उनले भ्रष्टाचारविरुद्धको यस अभियानलाई अन्यत्रै मोड्ने नियोजित चलखेलका रुपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको उल्लेख गरे।

साउन १५, २०८० सोमबार १३:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।