वर्षा कम हुँदा महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान समेत सुक्दै

वर्षा कम हुँदा महोत्तरीमा ४० प्रतिशत मात्र रोपाइँ, रोपिएका धान समेत सुक्दै

जलेश्वर : महोत्तरी जिल्लामा यसपालि समयमा वर्षा नहुँदा अहिलेसम्म ४० प्रतिशत मात्र धान रोपाइँ भएको छ।

कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा. रामचन्द्र यादवका अनुसार यसपटक मनसुनी वर्षा नहुँदा र किसानले समयमै ब्याड राख्न नपाउँदा कम रोपाइँ भएको हो। साउन महिनाको दोस्रो साता बित्न लाग्दा पनि जिल्लामा यथेष्ट पानी परेको छैन।

यहाँका किसानले स्यालो ट्युवबेल, डिप ट्युवबेल र मोटरको पानी प्रयोग गरेर महँगो खर्च गरेर जेनतेन ४० प्रतिशत खेत रोपाइँ गरेका छन्। 

जिल्लाको कूल धान खेतीयोग्य जग्गा ४५ हजार हेक्टर रहेकोमा अहिलेसम्म नौ हजार नौ सय हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको यादवले जानकारी दिए।

पानी नै नपरेका कारण किसानले महँगो मूल्यमा सिँचाइ गरेर रोपेका धानका बिरुवा पनि अहिले सुक्न थालेको जलेश्वर नगरपालिका –८ का किसान विपेन्द्र पाण्डले बताए। उनले आफ्नो खेतमा लगाएको धानका बिरुवा सुक्न थालेको र खेतभरि धाँजा समेत फाटेको बताए।

साउन १५, २०८० सोमबार ११:२७:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।