पाकिस्तान विष्फोटमा मृत्यु हुनेको संख्या ४४ पुग्यो, अहिलेसम्म कसैले लिएन जिम्मा
अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको एक जिल्लामा आइतबार एक भयानक बम विस्फोट भएको छ।
कट्टरपन्थी इस्लामिक राजनीतिक दलको बैठकलाई लक्षित गरी आक्रमण भएको थियो। जहाँ कम्तीमा ४४ जनाको ज्यान गएको छ भने १०० भन्दा बढी घाइते भएका छन्।
बाजौर आदिवासी जिल्लाको राजधानी खारमा जमियत उलेमा-ए-इस्लामका कार्यकर्ता सम्मेलनको क्रममा विस्फोट भएको थियो।
स्थानीय टेलिभिजन च्यानलको फुटेजमा विस्फोटपछि घटनास्थलमा मानिसहरू आतंकित भएको देखाइएको छ। घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स पनि घटनास्थलमा पुगेको देखिएको छ। विष्फोट हुँदा सम्मेलन स्थलमा ५०० भन्दा बढी मानिस उपस्थित थिए।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
जमियत उलेमा-ए-इस्लामका प्रमुख मौलाना फजलुर रहमानले प्रधानमन्त्री शहबाज शरीफ र प्रान्तका कार्यवाहक मुख्यमन्त्री आजम खानसँग घटनाको छानबिन गर्न माग गरेका छन्।
उनले पार्टी कार्यकर्तालाई अस्पताल पुगेर रक्तदान गर्न अपिलसमेत गरेका छन्। फजलले जेयूआई कार्यकर्ताहरूले शान्ति कायम राख्नुपर्ने बताए।
प्रारम्भिक रिपोर्टमा यो आत्मघाती विस्फोट भएको अनुमान गरिएको छ। सुरक्षा बलले क्षेत्रलाई घेराबन्दी गरेको छ । जमियत उलेमा-ए-इस्लाम नेता हाफिज हमदुल्लाहले विस्फोटको कडा निन्दा गर्दै यो जिहाद नभई आतंकवाद र मानवतामाथिको आक्रमण भएको बताएका छन्।
साउन १५, २०८० सोमबार ०७:५४:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।