नयाँ कमेडी रियालिटी शो ‘महा गफाडी’ आउँदै, निर्णायकमा शैलेन्द्र, लुनिभा र बुद्धि
काठमाडौँ : कमेडीमा आधारित टेलिभिजन रियालिटी शो ‘महा गफाडी’को औपचारिक घोषणा भएको छ। आइतबार राजधानीमा आयोजित एक कार्यक्रम गरेर शोको घोषणा गरियो।
साउन १५ गतेबाट डिजिटल अडिसन सुरु हुने शोको प्रसारण शुभारम्भ असोज तेस्रो साताबाट गरिने आयोजकले जानकारी दिए।
यस रियालिटी शोलाई नरेशनाथ योगीले निर्देशन गर्दैछन्। उनी फिल्म लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन्।
अर्को कमेडी रियालिटी शो कमेडी च्याम्पियनको तेस्रो सिजन प्रसारणको तयारीमा छ। उनले नेपालमा कमेडी शो कम भएका कारण फरक तरिकामार्फत आफ्नो टिम आउन लागेको दाबी गरे
‘हामीले ल्याउन लागेको रियालिटी शो कसैसँग प्रतिस्पर्धाका लागि ल्याउन लागिएको होइन,‘उनले भने,‘सही प्लेटफर्म नपाएर चुपचाप बसेका र बोलेर नै जीवनमा केही गर्छु भन्नेहरूका लागि महा गफाडी उपयोगी हुन सक्छ भनेर नवीन प्लेटफर्म ल्याएका हौँ।’
उनका अनुसार यस रियालिटी शोमा सहभागी हुने प्रतिष्पर्धीहरुको उमेरको हकमा १८ वर्ष भन्दा नाघेको हुनुपर्नेछ।
ढाकाटोपी फिल्मस्को ब्यानरमा निर्माण हुने रियालिटी शोमा नेपाली भाषी रहेका संसारका जुनसुकै नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन्।
अरू रियालिटी शोमा नेपाली भाषा मात्र बोल्न पाइथ्यो भने यसमा आफ्नो मातृभाषाबाट समेत अडिसन दिन सकिने निर्देशक योगीले बताए।
आयोजकका अनुसार यो रियालिटी शोको अडिसन डिजिटल प्लेटफर्ममा मात्रै गरिनेछ। निर्देशक योगीका अनुसार डिजिटल अडिसनबाट छानिएका उत्कृष्ट १८ मात्र सहभागी हुनेछन्। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अस्ट्रेलियामा गरिने उनले बताए।
यस रियालिटी शोका विजेता सहितको टोलीले पहिलो विश्व भ्रमणको सुरुवात क्यानडाबाट गर्नेछन्। त्यसपछि अमेरिका लैजाने आयोजकको दाबी छ।
‘महा गफाडी’को निर्णायकमा हास्यव्यङ्ग्य कवि शैलेन्द्र सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ (हैट)रहने छन्।
हैट थेगोका कारण चर्चामा आएका तामाङले आफूलाई यो महा गफाडीको जज बन्नलाई प्रस्ताव आउँदा निकै गाह्रो लागेको बताए।
‘यो रियालिटी शोका लागि पहिला प्रस्ताव आउँदा आफू झसङ्ग भए,’उनले हाँस्दै भने,‘कम बोल्ने भएकाले नै मलाई यो रियालिटी शोमा जजका रूपमा राख्नु भएको हो रे।’
कार्यक्रमको सञ्चालन कलाकार कामेश्वर चौरासियाले गर्नेछन्। ३ वर्ष फिल्मका पर्दाबाट हराएका कामेश्वर यही रियालिटी शोबाट काममा फर्कन लागेका हुन्। उकेरासँगको कुराकानीमा उनले कोरोना महामारीपछि फिल्म क्षेत्र चौपट बनेपछि आफू घर वीरगन्जमा बसेको र बल्ल काममा फर्किन थालेको बताए।
कोरोना महामारी आउनु भन्दा २ महिना अघि होटेल व्यवसाय थालेका उनले देशभर लकडाउन भएपछि उनी पसल बन्द गरेर आफ्नै घर फर्किका थिए।
उनले भने,‘बल्ल त काम सुरु हुँदैछ। केही फिल्मका लागि पनि कुरा भइरहेको छ। तर, पक्का भएको छैन। सायद छिट्टै हुन्छ होला।’
‘महा गफाडी’को विजेताले १५ लाख नगद पुरस्कार तथा सवारी साधन, फस्टरनरअप लाई १० लाख नगद र सवारी साधन, सेकेन्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौथो र पाँचौँ हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शोका निर्देशक योगीले जानकारी दिए।
साउन १४, २०८० आइतबार २०:४२:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।