लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित

लम्पी स्किनले भक्तपुरमा पाँच सय ८६ पशु मरे, चाँगुनारायण सबैभन्दा धेरै प्रभावित
फाइल तस्बिर

भक्तपुर : पशुमा देखिएको लम्पी स्किनको संक्रमणका कारण भक्तपुरमा पाँच सय ८६ चौपाया मरेका छन्।

जिल्लाका चार नगरपालिकामध्ये सबैभन्दा धेरै चाँगुनारायण नगरपालिकामा ५११ गाई र तीन भैँसी गरी कूल पाँच सय १४ चौपाया मरेका छन् भने सूर्यविनायक नगरपालिकामा ६५ र मध्यपुरथिमि नगरपालिकामा १० पशुको मृत्यु भएको नगरपालिकाले जनाएको छ। 

जिल्लाको चाँगुनारायण नगरपालिकामा सबैभन्दा धेरै पशुपालन व्यवसाय रहेको छ। नगरभित्र ठूला ठूला डेरी सञ्चालनमा रहेकोले पनि यहाँ पशुपालन व्यवसाय फस्टाएको हो।

अहिले लम्पी स्किनको महामारीले सबैभन्दा धेरै क्षति पनि चाँगुनारायणमा नै भएको नगरालिकाको पशु सेवा शाखा प्रमुख खड्ककुमार मैनालीले बताए।

उनका अनुसार चाँगुनारायणमा अझै चार भैँसी र एक हजार १३२ गाई गरी एक हजार १३६ संक्रमित छन् भने ५ हजार ६ सय पशु प्रभावित छन्। 

गाईभैँसीमा लम्पी स्किनको संक्रमण बढेपछि चाँगुनारायण नगरपालिकाले एक हजार पाँच सय डोज खोप खरिद गरी गाईभैँसीलाई लगाएको मैनालीले बताए।

लम्पी स्किनको संक्रमण उच्च देखिएपछि त्यसको निराकरणका लागि बागमती प्रदेश कृषि तथा पशुपक्षी मन्त्रालयबाट प्राप्त एक लाखबाट पशु चिकित्सक, औषधिसहित प्राविधिक टोली प्रत्येक टोलको घर घर गएर निरीक्षण गर्नुका साथै खोप लगाइ दिएको उनले जानकारी दिए। 

'टोलीले पशुको स्वास्थ्य जाँच गरी आवश्यकताअनुसार भिटामिन, ज्वरोको औषधि, प्रोटिन दिई खोप लगाउने कार्य गर्दै आइरहेको छ। खटिरा सरसफाइका लागि आवश्यक औषधि वितरण गरेको छ', उनले भने। 

यसैगरी सूर्यविनायक नगरपालिकामा तीन सय ८५ गाईभैँसीमा लम्पी स्किनको संक्रमण देखिएको नगरपालिकाको पशुसेवा शाखा प्र्रमुख मिनल शाक्यले जानकारी दिए। उनका अनुसार सूर्यविनायकमा एक हजार आठ २५ गाईभैँसीलाई लम्पी स्किन संक्रमणविरुद्ध खोप लगाइसकेको छ। 

साउन १४, २०८० आइतबार १९:२९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।