जाहेरी दिन गएका अभिनेता सारुकको परिवारलाई सम्झाएर फर्कायो प्रहरीले

जाहेरी दिन गएका अभिनेता सारुकको परिवारलाई सम्झाएर फर्कायो प्रहरीले

काठमाडौँ : अभिनेता सारुक ताम्राकार आत्महत्या घटना दुरुत्साह भएको दाबी गर्दै जाहेरी दिने परिवारको प्रयास सफल भएन।
जिल्ला प्रहरी परिसर काठमाडौँमा गएर ताम्राकारको परिवारले फिल्म युनिटका केही सदस्य विरुद्ध किटानी जाहेरी दर्ता गराउने प्रयास गरेका थिए।

उनीहरूले काठमाडौँका एसएसपी दानबहादुर कार्कीलाई नै भेटेका थिए। आमासहितको सदस्यहरूलाई कार्कीले उजुरी परिसकेको र त्यसैको आधारमा अनुसन्धान जारी रहेकाले तत्काल किटानी जाहेरी दर्ता गर्न आवश्यक नभएको भन्दै सम्झाएर फर्काएका थिए।

भेटमा संलग्न स्रोतका अनुसार सारुकको आत्महत्यापछि फिल्मका केही कलाकारको गतिविधि शङ्कास्पद रहेको परिवारका सदस्यले दाबी गरेका थिए।

आत्महत्या लगत्तै घरमा आएर सारुकको कोठामा गएर सुसाइड नोट छ छैन हेरेको, परिवारका सदस्यका कारण आत्महत्या गरेको झुटो प्रचार गराएको, आत्महत्या लगत्तै बुढानीलकण्ठको घरबाट सामान लगेको किटानी जाहेरीको आधार बनाएका थिए।

'उजुरीको आधारमा हामीले अनुसन्धान गरिरहेका छौँ। यो तत्काल बन्द हुने अनुसन्धान हैन' एसएसपी कार्कीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो' अहिले नै कसैलाई तोकिहाल्ने प्रमाण फेला परेको छैन। यदि कोही संलग्न देखियो भने हामी नै बोलाएर जाहेरी दिन भन्छौँ।'

एसएसपी कार्कीले अनुसन्धानको प्रक्रियाबारे सम्झाएपछि परिवारका सदस्य किटानी नदिई फर्किएका थिए।

अभिनेता ताम्राकार आफ्नै घरमा मृत फेला परेका थिए। उनको मोबाइलमा सुसाइड नोट फेला परेको प्रहरीले दाबी गरेको छ।
डिएसपी अनिल अधिकारीका अनुसार नोटमा उनले कसैलाई पोलेका छैनन्।

आफ्नै कारण आत्महत्या गरेको लेख्दै कसैलाई दुख नदिन आग्रह गरेका थिए। 

साउन १४, २०८० आइतबार १८:२२:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।