संसद्को अवरोध हटाउन शीर्ष नेताबीचको छलफल सकारात्मक

संसद्को अवरोध हटाउन शीर्ष नेताबीचको छलफल सकारात्मक
फाइल फोटो

काठमाडौं : संसद्मा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएका छन्।

सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सङ्घीय संसदको दुवै सदनको बैठक अवरोध गर्दै आएकोमा यस विषयमा समेत सकारात्मक छलफल भएको बताइएको छ। 

छलफलमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी थिए।

साउन १४, २०८० आइतबार १७:१०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।