तस्करीविरुद्ध जेहाद छेडिएको छ, यो राजनीतिक स्टन्ट होइन : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिति र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन्।
समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यो एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाई नभएकाले यसमा जनताको साथ र समर्थन जरुरी रहेको स्पष्ट पारे।
‘राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ। तस्करीविरुद्ध जेहाद छेडिएको छ। यो कदम रोकिनेवाला छैन। अझै अगाडि बढ्छ। यो लडाइँ जित्नैपर्छ। यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन। नेपाली जनताको हितका लागि गरिएको हो,’ उनले भने।
साथै उनले भ्रष्टाचारका अरू धेरै फाइल पनि खुल्ने बताए, ‘हेर्दै जानुहोला अरू फाइल खुल्दै जानेछन्। त्यतिबेला तपाईंहरुको समर्थन चाहिन्छ। एक्लै प्रधानमन्त्री र सरकारले जित्ने लडाइँ होइन, जनस्तरको समर्थन पाएर हामी यो ब्याटल जित्ने छौं।’
साउन १४, २०८० आइतबार १६:३०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।