अन्य देशमा कडा मौद्रिक नीति आइरहँदा हामीले लचिलो नीति ल्यायौं : गभर्नर अधिकारी
काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका मौद्रिक नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले भने नीतिगत दर घटाएर लचिलो नीति लिएको बताएका छन्।
आइतबार काठमाडौंमा आयोजित मौद्रिक नीतिपछिको छलफल कार्यक्रममा गभर्नर अधिकारीले लचिलो आर्थिक नीति लिनुका पछाडि तर्कसङ्गत आधार रहेको पनि स्पष्ट पारे।
उनले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षा सहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताए।
‘सात प्रतिशतको नीतिगत दरलाई साढे ६ प्रतिशत बनाइएको छ। यस्तो लचिलो नीति लिनुका पछाडि केही आधार छन्। अहिले बाह्य क्षेत्रमा सहज भएको छ। वर्षान्तमा तरलता पनि सहज देखिएपछि राष्ट्र बैंकले नीतिगत दर घटाएको हो,’ उनले भने, ‘घरजग्गा क्षेत्रमा गिरेको मनोबललाई उकास्न पनि मौद्रिक नीतिले केही व्यवस्था गरेको छ।’
त्यस्तै चालु आर्थिक वर्षका लागि मौद्रिक नीतिमार्फत राखिएको बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ जाने कर्जाको वृद्धिदर ११.५ प्रतिशत, ६ प्रतिशतको आर्थिक वृद्धिदर र साढे ६ प्रतिशतको वाञ्छित सीमाभित्र राख्नेगरी तय भएको मूल्यवृद्धिको लक्ष्य प्राप्त गर्नेगरी मौद्रिक नीति आएको उनको भनाइ छ।
‘चालु आर्थिक वर्षमा निजी क्षेत्रतर्फको कर्जा विस्तारको दर साढे ११ प्रतिशतले बढेर रू पाँच खर्ब ६२ अर्ब बराबर रहने भनिएको र यो प्राविधिक रुपमा हिसाब गरेरै ल्याइएको हो। त्यो हासिल हुनेमा हामी आशावादी छौं,’ उनले भने।
‘तरलतामा आएको सुधार, घट्दो ब्याजदर, विप्रेषण आप्रवाहको स्थिति, सरकारी बजेट खर्चको अवस्था सुधार्नका लागि ल्याइएका कार्यक्रम लगायत विषय हेरेर यस वर्षको कर्जाको वृद्धिदरको प्रक्षेपण गरिएको हो,’ उनले थपे।
साउन १४, २०८० आइतबार १५:५३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।