गठबन्धनका कारण संसदीय समितिले पूर्णता पाएन, अब बैठकमा आउँदैनौं : योगेश भट्टराई

गठबन्धनका कारण संसदीय समितिले पूर्णता पाएन, अब बैठकमा आउँदैनौं : योगेश भट्टराई

काठमाडौं : सांसद एवं प्रमुख प्रतिपक्ष दल एमालेका सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन्।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारे। 

संसदीय प्रक्रिया अनुसार संसद् र समितिहरु चल्न नसकेको भन्दै उनले गठबन्धनका कारण समितिहरुले पूर्णता पाउन नसकेको दाबी गरे।

‘सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न चाहन्न,’ उनले भने, ‘संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवतः हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौं। सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौं।’ 

संसद् प्रभावकारी रुपमा चल्न नसक्दा मुलुकको राष्ट्रिय एकताको प्रतीक संसद् र संविधान बन्न नसकेको उनले बताए।

‘प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा मागेको छैन। यद्यपि लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने अभ्यास छ। गठबन्धनले यो पनि दिन चाहँदैन भने हामीलाई चाहिंदैन। तर संसदीय प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ,’ उनले भने।

समितिले काम सुरु गरेको तीन महिनासम्म पनि सभापति चयन हुन नसक्नु राम्रो नभएको उनको भनाइ छ।

समितिको आइतबारको बैठकले सार्वजनिक लेखा समिति सञ्चालन कार्यविधि, २०८० पारित गरेको छ।

साउन १४, २०८० आइतबार १५:२५:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।