अवैध सामान वैध बनाउने भन्सारको कर्तुत, सार्वजनिक भएपछि वैधानिक बनाउन चलखेल

अवैध सामान वैध बनाउने भन्सारको कर्तुत, सार्वजनिक भएपछि वैधानिक बनाउन चलखेल

झापा : पूर्वी सीमानाका काँकडभिट्टामा रहेको मेची भन्सारबाटै करोड बढीको सामान राजश्व छली गर्दै नेपाल भित्र्याउन लागेको ना६ख ४९०२ नम्बरको कन्टेनरलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लियो।  

जिल्ला प्रहरी कार्यालय झापाले इप्रका काँकडभिट्टाको समन्वयमा एउटा कन्टेनरलाई नियन्त्रणमा लिएपछि अहिले भन्सार कर्मचारी र एजेन्टभित्र खैलाबैला मच्चिएको छ।

मेची भन्सार कार्यालय काँकडभिट्टा भित्रैबाट लाखौँ राजश्व छल्ने एउटा योजनासहित निस्किएको कन्टेनरलाई झापा प्रहरीले नियन्त्रणमा लिएपछि अहिले त्यसलाई वैधानिक बनाउन स्वयं भन्सार कार्यालय नै लागिपरेको पाइएको छ।

राजश्व संकलनमा गिरावट आएको भन्दै सीमानाकामा साउन १ गतेदेखि भारतबाट आयातित १०० रुपैयाँभन्दा बढीको जुनसुकै सामान अनिवार्य भन्सार तिर्नुपर्ने नियम लगाइएको छ। तर भन्सार कार्यालयकै प्रांगणबाट लाखौं रुपैयाँ राजस्व छली गर्दै कन्टेनर आएपछि आम सर्वसाधारण आक्रोशित बनेका छन्। 

आम सर्वसाधारणका लागि १०० रुपैयाँ माथिका सामानमा कडाइका साथ अनिवार्य भन्सार तिर्नुपर्ने नियम लागू गरेको समयमा भन्सार कार्यालयकै मिलेमतोमा लाखौं राजस्व छली गरेर कन्टेनर बाहिरिएको स्थानीयको आरोप छ।

मेची भन्सार कार्यालय परिसरबाटै जाँचपास भएर निस्किएको १ करोड १ लाख २७ हजार ५ सय मूल्य बराबरको सामानसहित कन्टेनर प्रहरीले बरामद गरेको हो। 

भन्सारबाट जाँचपास भएर लाखौं कर छली गर्दै निस्किएको कन्टेनरलाई अहिले वैधानिक बनाउन भन्सार कार्यालयले विज्ञप्ति नै जारी गरेको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ ५ बजेर ५५ मिनेटमा भन्सारको २ नम्बर गेटबाट ना६ख ४९०२ नम्बरको कन्टेनर बाहिर निस्किएको थियो। कन्टेनर निस्किएपछि प्रहरीले त्यसलाई पच्छ्याउन थाल्यो। भन्सारदेखि केही पर पुग्दा प्रहरीले पछ्याएको चाल पाएपछि चालकले कन्टेनरलाई मेचीनगर-६ स्थित ट्राफिक पोस्ट नजिकैको फायरिङ चोक सडक किनारमा साइड गरेर चाबी छाडेर फरार भए। 

प्रहरी टोली कन्टेनरको चालक आउँछ भनेर पर्खिबस्यो। दुई घण्टा बितिसक्दा पनि चालक नआएपछि त्यहाँ खटिएका प्रहरीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी दीपक भारतीलाई घटनास्थल बोलाए।

त्यसपछि डीएसपी भारतीको नेतृत्वमा कन्टेनरलाई राति ९ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रांगणमा ल्याइएको थियो। कन्टेनरको चालक बस्ने सिटमा प्रहरीले एउटा गेट पास मात्रै फेला परेको जानकारी गराएको थियो।

तर प्रहरीले नियन्त्रणमा लिएको झण्डै १५ घण्टा बितिसक्दा पनि उक्त सामानका धनी को हुन् भनेर प्रहरीले समेत पत्तो लगाउन सकेको छैन। सामानको दाबी गर्न पनि कोही आएनन्।

प्रहरीले उक्त कन्टेनर खोलेर चेकजाँच गर्दा कन्टेनरमा  ७ लाख २० हजार बराबरको हुक्कामा प्रयोग हुने कोकोजेल चारकोल ६० कार्टुन , २० लाख मूल्य बराबरको अफजोल फ्लेभर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको काँचको झ्याम्टा २ हजार ४ सय ६५ केजी, १२ हजार ५०० मूल्य बराबरको टेलिफोन साबुन २५ कार्टुन गरी १ करोड १ लाख २७ हजार ५ सय बराबरको सामान रहेको र ट्रकको अन्दाजी मूल्य २० लाख गरी जम्मा १ करोड २१ लाख २७ हजार ५ सय बराबरको सामान  राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो। 

तर त्यसपछि भने घटनाले नयाँ मोड लियो। कन्टेनर नियन्त्रणमा आएको झण्डै २४ घण्टा पुगिसकेको अवस्था र सम्बन्धित धनीसमेत पत्त नलाग्दा मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत पूर्णप्रसाद लम्सालले प्रेस विज्ञप्ति जारी गर्दै उक्त ट्रक नेपालतर्फबाटै खाली अवस्थामा भन्सार प्रवेश गरेको र सन्तोष खवास प्रोपाइटर रहेको स्वाभिमान सन्स एण्ड सप्लायर्सको रहेको उल्लेख गरे।

काँकडभिट्टासम्म लैजाने गरी भन्सार एजेन्ट ढेकेन्द्र कार्कीबाट उक्त मालवस्तुको १ लाख ५६ हजार ७ सय ९० रुपैयाँ भन्सार महसुल बुझाएको विज्ञप्तिमा उल्लेख छ।

प्रेस विज्ञप्तिसँगै प्रज्ञापन-पत्रसमेत सार्वजनिक भएको छ। भन्सार एजेन्ट कार्कीको नामसहित स्वाभिमान सन्स् एन्ड सप्लायर्सले १५ ब्याग, २५ कार्टुन र ३० कार्टुन वस्तु भन्सार राजस्व बुझाएको प्रज्ञापन पत्रमा लेखिएको प्रस्ट देखिन्छ। तर यो प्रज्ञापनपत्रमा उल्लेख गरिएको मालवस्तु र प्रहरीले कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्दाको परिणाम भने फरक पाइएको छ। 

हाल भन्सारले उक्त सामान वैधानिक ढंगले बाहिरिएको दाबी गर्दै सूचना जारी गरेको छ भने प्रहरीले उक्त मालवस्तु अवैध ढंगले भित्र्याउन लागिएको प्रमाणसहित एक करोड १ लाख २७ हजार ५ सयको सामान र २५ लाखको कन्टेनरसहित एक करोड २६ लाख २७ हजार ५ सय मूल्य तोकेर आवश्यक कारबाहीका  लागि इटहरीस्थित राजस्व अनुसन्धान कार्यालय बुझाइसकेको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र प्रसाद रिजालले भने, 'सो कन्टेनर भन्सारभित्रबाटै बाहिर आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ, प्रज्ञापनपत्रमा लेखिएको भन्दा धेरै सामान फेला पारेका छौँ, त्यो अवैध हो, कन्टेनर पनि सिलबन्दी थिएन, यसबारे थप अनुसन्धान गरिरहेका छौँ।’ 

व्यापारी स्रोतका अनुसार सो सामान धुलाबारीका व्यापारी पियूषको हो। भन्सारबाट सामान धुलाबारीसम्म पुर्याउने र त्यहाँबाट देशका विभिन्न बजारमा सप्लायर्स गर्ने व्यापारीको योजना थियो। व्यापारीले सो सामान भारतबाट आयात गरी भन्सारको गोदाममा ल्याएर राखेका र एजेन्टमार्फत सेटिङ मिलाएर कम परिमाण देखाएर बढी परिमाणको सामान कन्टेनरमा हालेर लैजान खोज्दा प्रहरीले समातेको हो।

यता मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले सुरुमा उक्त कन्टेनर भन्सारबाट ननिस्किएको बताए पनि पछि सूचना अधिकारीले जानकारी दिएपछि सत्य बोल्न बाध्य भए। उनले आफू छुट्टीमा रहेकाले यसबारे थाहा नभएको पछि बताए।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी

‘कन्टेनरभित्र के कस्तो सामान थियो, त्यो हामीलाई थाहा छैन,’ उनले भने, ‘भन्सारले हुक्कामा प्रयोग हुने फ्लेवर, काँसको झाम्टा लगायतको सामान राजश्व तिरेरै पठाएको हो, काँकडभिट्टाकै स्थानीय व्यापारीको सामान भएकोले कन्टेनर सिलबन्दी गर्नुपर्दैन र गरिँदैन पनि।’ उनले थपे, ‘काँकडभिट्टाभन्दा बाहिरका कन्टेनरको हकमा मात्र सिलबन्दी गरी पठाइन्छ। प्रहरीले समातेको कन्टेनर ट्रान्सपोर्टको रहेको बुझिएको छ। यसबारे प्रहरीले अनुसन्धान गर्दै होलान्।'

तर, भन्सारबाट गल्ती नभएको उनले दाबी गरिरहे।

साउन १४, २०८० आइतबार ११:२६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।