नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख दिनेलाई पक्राउ गर्दै प्रहरी

नयाँबसपार्कमा यात्रुको झोला तानेर दुःख दिनेलाई पक्राउ गर्दै प्रहरी

काठमाडौँ : नयाँ बसपार्क क्षेत्रमा यात्रुको झोला जथाभावी तानेर दुःख दिने गरेकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

यात्रुलाई दुःख हैरानी दिएको भन्दै प्रहरीले पक्राउ गरी कारबाही गर्न थालेको हो। 

विभिन्न स्थानबाट काठमाडौँ आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए। 

प्रहरीले शनिबार मात्र नयाँ बसपार्कबाट १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जसमध्ये चार जना होटल सञ्चालक रहेका छन्।

'सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ', उनले भने। प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने उनको भनाइ छ।

नेपाली होटल व्यवसायी संघका अध्यक्ष गणेश ढकालले होटल व्यवसायी संघ र नेपाल प्रहरीको संयुक्त टोलीले यात्रुलाई दुःख हैरानी दिनेलाई कारबाहीका लागि अभियान सञ्चालन गरेको बताए।

यात्रुलाई दुःख तथा हैरानी दिने जोकोहीलाई कारबाही हुनुपर्ने उनको भनाइ छ।

'यात्रुले सुरुमै आफ्नो गन्तव्यस्थल पहिचान गरी काठमाडौँ आएका हुन्छन्, उनीहरूलाई बसपार्कमा गएर जथाभावी झोला तान्ने तथा दुःख हैरानी दिने काम गर्नु हुँदैन, यात्रु पनि कुनै किसिमको प्रलोभनमा पर्नुहुँदैन', उनले भने। 

संघले पछिल्लो समय होटल क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न तथा व्यवस्थितरूपमा होटल सञ्चालन गर्नका लागि होटलमा अनिवार्य रूपमा ‘सिसी क्यामेरा’ जडान गर्ने कामलाई समेत अगाडि बढाएको छ।

साउन १४, २०८० आइतबार ०९:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।