जलवायु परिवर्तनको असरः गाईको दूध उत्पादन क्षमता ३५ प्रतिशतले घट्यो, गर्मीले मर्दैछन् हात्ती

जलवायु परिवर्तनको असरः गाईको दूध उत्पादन क्षमता ३५ प्रतिशतले घट्यो, गर्मीले मर्दैछन् हात्ती

जलवायु परिवर्तनले जनावरहरूलाई पनि असर गरिरहेको नयाँ अनुसन्धानले देखाएको छ।

भारतको कृषि तथा जैविक अन्तर्राष्ट्रिय केन्द्र (सीएबीआई) ले जनावरहरूको शारीरिक र मानसिक स्वास्थ्य अध्ययन गरेको थियो। जहाँ उनीहरूको खानपान, वातावरण र व्यवहारको पनि अध्ययन गरिएको थियो।  

अध्ययनले तातो वा बढ्दो तापक्रमका कारण जनावर तनावग्रस्त हुने गरेको पाइएको छ। जसका कारण उनीहरूको उत्पादकत्व घट्दै गएको छ। अनुसन्धानका अनुसार जलवायु परिवर्तनका कारण गाईको दूध दिने क्षमता ३५ प्रतिशतले घटेको छ। 

त्यसैगरी अत्यधिक गर्मीका कारण हात्तीको मृत्यु, कुकुरको तौल बढेको पनि देखिएको छ। चमेरा, जेब्राफिस, भ्यागुता, कोआला (अष्ट्रेलियाका रूखमा बस्ने प्राणी) अफ्रिकी हात्ती, कुखुरा, पक्षी र गाईमा जलवायु परिवर्तनको असर अनुसन्धान गरिएको थियो।

अनुसन्धानका अनुसार उच्च तापक्रमले कुखुराको आयु र मासुको गुणस्तरमा पनि ह्रास आएको छ। यस निष्कर्षमा पुग्न कुखुराहरूलाई चार दिनसम्म तातो अवस्थामा राखिएको थियो। यसले उनीहरूमा नेक्रोसिसका केसहरू निम्त्याएको पाइएको थियो। यस्तो अवस्थामा शरीरका तन्तुहरू मर्ने गर्छन्। 

अनुसन्धानकर्ता डा एडवर्ड नारायणले भने, 'तापक्रम बढेपछि अफ्रिकी मुलुकमा खडेरीको अवस्था सिर्जना भएको छ। यहाँ पानी नहुँदा हात्ती मरिरहेका छन्।'

वर्ल्ड वेदर एट्रिब्युसन (डब्ल्युडब्ल्यूए) को रिपोर्टअनुसार पूर्वी अफ्रिकामा खडेरीको सम्भावना १०० प्रतिशतले बढेको छ। साढे दुई वर्षसम्म अफ्रिकामा औसतभन्दा कम वर्षा भएको कारण तापमान बढ्दै जान थालेको छ। जसका कारण बालीनाली सुकेर जलेका छन् भने धेरै जनावरहरू पनि मरेका छन्। 

अनुसन्धानका अनुसार तातो मौसमले कुकुरमा मोटोपना बढाएको छ। अनुसन्धानमा बेलायतको उदाहरण दिइएको थियो। बेलायतमा बस्ने ५० प्रतिशत कुकुरको तौल औसतभन्दा बढी रहेको पाइएको छ। किनभने यहाँका ८५ प्रतिशत मानिसहरू गर्मीका कारण आफ्नो कुकुरहरूलाई बाहिर हिँडाउन लैजाँदैनन्। यसले कुकुरमा अल्छीपन पनि बढाएको छ।

गर्मी मौसममा कुकुरहरू पनि धेरै रिसाउने र उसले टोक्ने घटना पनि बढेको छ। चिकित्सकका अनुसार जाडो र वर्षाको तुलनामा गर्मीमा कुकुरले टोक्ने घटना ११ प्रतिशतले बढेको पाइएको छ। 

रिपोर्टमा मानवलाई जलवायु परिवर्तनको कारण भनिएको छ। ऊर्जाको लागि जीवाश्म इन्धन जलाउने गर्दा त्यसका कारण विश्वभरबाट हरेक वर्ष ४००० मिलियन टन कार्बनडाइअक्साइड उत्सर्जन हुने गरेको छ।

वायु प्रदूषणका कारण ग्लोबल वार्मिङ अर्थात् विश्वव्यापी तापक्रम निरन्तर बढिरहेको छ। विश्वव्यापी रूपमा, कोइला, कच्चा तेल र प्राकृतिक ग्यास ऊर्जाका लागि सबैभन्दा बढी प्रयोग गरिन्छ। 

अहिलेको अवस्थामा हरितगृह ग्यासको उत्सर्जन जारी रह्यो भने सन् २०५० सम्ममा पृथ्वीको तापक्रम दुई डिग्रीले बढ्ने विज्ञहरू बताउँछन्। यस्तो अवस्थामा कतिपय ठाउँमा ठूलो खडेरी र कतिपय ठाउँमा विनाशकारी बाढी आउनेछ।

हिमनदी पग्लिने, समुद्रको सतह बढ्ने समस्या बढ्दै जानेछ। यसले समुद्री जीवनलाई असर गर्ने र समुन्द्री किनारमा रहेका धेरै सहर पानीमा डुबेर नासिने पनि उक्त अध्ययनमा भनिएको छ। 

-एजेन्सीको सहयोगमा

साउन १४, २०८० आइतबार ०८:३७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।