बुवा राष्ट्रपति, छोरा पक्राउ

बुवा राष्ट्रपति, छोरा पक्राउ
बायाँ राष्ट्रपति गुस्ताभो पेट्रो र दायाँ उनका छोरा निकोलस

एजेन्सी : कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अवैध रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ।

आफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा छोरा निकोलसलाई पक्राउ गरिएको राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिए।

कोलम्बियाका पहिलो बामपन्थी राष्ट्रपतिले ट्वीटरमा लेखेका छन्, ‘प्रहरीले छोरा निकोलस र निकोलसकी पूर्वपत्नी डेयुरिस भास्केजलाई पक्राउ गरेको छ।’

निकोलस पेट्रोले सन् २०२२ मा आफ्ना पिताको सफल राष्ट्रपतीय अभियानका लागि लागुऔषध तस्कर र अन्य तस्करहरूबाट ठूलो रकम लिएको र त्यसको प्रयोग उत्तरी शहर ब्यारान्क्विलामा विलासितामा बस्नका लागि प्रयोग गरेको आरोप लागेको थियो।

पेट्रोले लेखेका छन्, ‘म मेरो छोरालाई भाग्य र शक्तिको कामना गर्दछु। एक व्यक्ति र बुबाको रूपमा यति धेरै आत्म–विनाश देख्दा पीडा हुन्छ।’

यो प्रकरण सार्वजनिक भएदेखि राष्ट्रपति पेट्रोले देशका शक्तिशाली कोकिन मालिकहरूबाट पैसा प्राप्त गरेको आरोपहरूको खण्डन गर्दै आएका थिए। उनी आफैँले छोरामाथि छानबिन गर्न आग्रह गरेका थिए।

निकोलस पेट्रो उत्तरी एटलान्टिक विभागमा आफ्नो पिताको पार्टीको लागि सांसद थिए। समाचार रिपोर्टहरूमा निकोलसको बैंक रेकर्डहरूबाट उनीसँग सांसदका रूपमा आर्जन हुने सम्पत्तिको तुलनामा धेरै पैसा देखिएको पाइएको उल्लेख गरिएको छ।

एक पटक एक अन्तरवार्तामा आफ्नो पूर्व पतिले स्यामुअल सान्टान्डर लोपेसिएरा नाम गरेका एक पूर्व लागूऔषध तस्करबाट एक लाख २४ हजार अमेरिकी डलर बराबरको रकम प्राप्त गरेको भास्केजले दाबी गरेकी छन्।

साउन १३, २०८० शनिबार २२:३५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।