सयौँ मृत्यु देखेकी डा. किरणलाई जब राष्ट्रकवि बुवाको मृत्यु स्वीकार्न कठिन भयो
प्रा. डा. किरण घिमिरे (रेग्मी) प्रसूति तथा स्त्रीरोग विशेषज्ञ हुन्। उनी जनस्वास्थ्य विशेषज्ञ समेत हुन्। डा. किरणले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेर समेत काम गरेकी चिकित्सक हुन्। त्यसैले उनले नीति निर्माण तथा निर्णय तहमा समेत रहेर काम गरिन्।
त्यसैगरी चिकित्सकीय पेशाको शिलशिलामा डा. किरणले हजारौं बिरामीलाई बचाइन्, जुन उनको चिकित्सकीय धर्म र कर्म हो। चिकित्सकीय पेशाको सिलसिलामा उनले कयौं बिरामीको मृत्यु नजिकबाट देखिन्।
जब बुवाको मृत्यु स्वीकार्न कठिन भयो
मेडिकल अधिकृत हुँदा डा. किरणलाई मृत्युलाई स्वीकार्न कठिन थियो। अस्पतालमा काम गर्दै जाँदा भने उनले मृत्युलाई सहज रूपमा स्वीकार्दै गइन्। तर, आफ्नै बुवाको मृत्यु स्वीकार्न भने डा. किरणलाई निक्कै कठिन भयो।
उनका बुवा स्वर्गीय राष्ट्रकवि माधव प्रसाद घिमिरे हुन्। उनका बुवा घिमिरेको २०७७ भदौमा १०१ वर्षको उमेरमा लैलचौरस्थित आफ्नै निवासमा निधन भएको थियो। किरणले हात समाइरहेको अवस्थामा उनका बुवाले प्राण त्यागे।
मेरो मृत्यु यति बेला हुन्छ, १३ दिनसम्म यो-यो गर्नु भन्नुभयो। मृत्युको योजना नै उहाँले बनाउनुभयो।
‘मैले हात समाइरहेकी थिएँ, बुवा जानुभयो’, उनले बुवाको मृत्युबारे सुनाइन्।
बुवाको मृत्यु हुँदा एक जना दिदीबाहेक परिवारका सबैजना घरमै थिए। बुवाको मृत्युले उनी भावबिह्वल भइन्। उनको मनमा आघात पर्यो।
मृत्यु हुनु दुई घण्टा अघिसम्म बुवा घिमिरे बोलिरहेका थिए। छोराछोरीलाई काब्य टिपाइरहेका थिए।
‘मृत्युको दुई घण्टा अघिसम्म सानोभाइलाई (रितम्भरा) महाकाव्यको अन्तिम सर्गको सारांश टिपाइरहनुभएको थियो ’, डा. किरणले सुनाइन्।
बुवाको मृत्युपछि आठ जना सन्तानले बुवाको सो कृति प्रकाशित गरेको उनले सुनाइन्।
मृत्युको दुई वर्षअघिदेखि भने बुढ्यौलीका कारण आन्द्रा पातलो हुने लगायत स्वास्थ्यमा केही समस्या निम्तिएको थियो। मृत्यु हुनुभन्दा दुई दिन अघिदेखि भने बुवालाई बोल्न र सुन्न अलि गाह्रो भएको बाहेक जटिल कुनै ठूलो समस्या नभएकोे उनले सुनाइन्।
मृत्युको एक दिन अघिसमेत घिमिरेले अब मृत्युको घरी आइसकेकाले १३ दिनसम्म परिवारले मृत्यु संस्कारका यी यी काम गर्नु भनेर सानो छोरालाई टिपोट गराइरहेका थिए।
‘एक दिन अघिसम्म उहाँले आफ्नो मृत्युको बारेमा पनि टिपाएर जानुभएको छ,’ छोरी डा. किरणले भनिन्, ‘मेरो मृत्यु यति बेला हुन्छ, १३ दिनसम्म यो-यो गर्नु भन्नुभयो। मृत्युको योजना नै उहाँले बनाउनुभयो।’
घिमिरे सफासुग्घर बस्न रुचाउने व्यक्ति थिए। उनले मृत्युको दुई घण्टाअघि सानो श्वरमा ‘मलाई नुहाइदेओ’ भने। त्यसपछि डा. किरणकी आमा महाकालीले उनको शरीर अलिअलि पुछिदिइन्। त्यसपछि बिस्तारै घिमिरेको बोली कम हुँदै गयो।
हात समाइरहेको अवस्थामा बुवाले प्राण त्यागेपछि डा. किरण लगायत परिवार भावविह्वल भयो।
अहिलेसम्म पनि उनी बुवाले रचना गरेको मृत्युबारे गाएको गीत समेत सुन्न सक्दिनन्। बुवा माधव घिमिरेकै शब्द रचना भएको र कर्णदासको श्वरमा गाइएको ‘त्यसरी होस् मरण’ भन्ने गीत सुन्यो कि डा. किरणको मनमा गाठो पर्छ।
अनि उनी आसु थाम्न सक्दिनन्। राष्ट्रकवि घिमिरेको निधनपछि उनकै अन्तिम श्रद्धाञ्जलिका लागि यो गीत सार्वजनिक भएको थियो। उकेरासँको कुराकानीको क्रममा समेत यो गीत सम्झेर डा. किरणका आँखा रसाए।
‘त्यो गीत मैले अहिलेसम्म सुनेको छैन। सुन्न पनि सक्दिन,’ डा. किरणले गीतको प्रसङ्गमा आँसु पुछ्दै भनिन्, ‘कतै त्यो गीत बजेको सुन्नासाथ मलाई धेरै गाह्रो हुन्छ, सम्हाल्न सक्दिन, आँसु आइहाल्छ।’
बुवाको मृत्युमा पीडा लागे पनि बुवाले पाएको सम्मान सम्झँदा उनलाई बुवाको मरण गौरवशाली मरण लाग्छ। तर, उनी बुवाले भनेको सम्झन्छिन्।
डा. किरणलाई बुवालाई भनेका थिए, ‘मेरो मृत्युको बेलामा चाहि मलाई नछोड्नु। कस्ट भएर म जान नपरोस्।’
त्यसैले मृत्युको समयमा उनले बुवालाई छोडिनन्। तर, अझै बुवाको मृत्यु सम्झँदा डा. किरणको मनमा गाँठो पर्छ।
‘आफ्नाको मृत्यु देख्न थालियो, बुवा जानुभयो,’ उनले बुवाको मृत्युको घटना सम्झँदै भनिन्, ‘तर,आफ्नाको मृत्यु स्वीकार्न कठिन हुँदोरहेछ।’
डा. किरणले बुवाको मृत्युका प्रत्येक क्षण हेरिन्। त्यो बेला उनी एक चिकित्सक र छोरी दुवै भएर बुवाको मृत्यु हेरिन्।
बुवाको मृत्युपछि भने उनी ‘मृत्यु पनि कुनै अवस्थामा सामान्य हुन्छ, त्यसलाई स्वीकार्नुपर्ने रहेछ’ भन्ने सोच्न थालेकी छन्। उनी आफूले आफैँलाई सम्झाउन थालिन्।
बुवाको मृत्युलाई स्वभाविक रूपमा लिँदै जान थालिन्। मन सम्झाउने बुझाउने कोशिस गरिरहिन्। भोगाइले परिपक्वता आउने उनलाई महशुस हुन्छ।
छोराको मृत्युपछि डाक्टरलाई सर्पले टोकाएर मार्छु भन्दै जब बुवा अस्पतालभित्र छिरे
भरतपुर अस्पतालमा काम गर्दा सर्पले टोकेका बालकलाई इमर्जेन्सीमा पुर्याइयो। तर, अस्पतालमा नपुर्याउँदै ती बालकको मृत्यु भइसकेछ। बालकको मृत्यु भएको थाहा पाएपछि डाक्टरको लापरबाहीका कारण भन्दै भिडले अस्पतालमा हंगामा मच्चाउन थाल्यो।
डा. किरण लगायत चिकित्सक बस्ने कोठामा बसिरहेका थिए। त्यतिकैमा एक जना पुरुष अस्पतालभित्र छिरे। भित्रबाट बाहिर निस्कन नमिल्नेगरी ढोकाको चुक्कुल लगाइदिए। ती पुरुषले त हातमा सर्प पो बोकेका रहेछन्।
‘मेरो बच्चालाई टोक्ने यही साप छोडिदिएर तिमिहरूलाई पनि टोकाएर मार्छुु’ भन्दै हातमा साप बोकेर डाक्टरहरू बसेकैतर्फ ती पुरुष अगाडि बढे। पुरुषले साप बोकेर अस्पतालभित्र छिरेको देख्दा डा. किरण पनि अत्तालिइन्। भागदौड नै मच्चियो। त्यहाँका कर्मचारीले निक्कै सम्झाइबुझाइ गरेपछि ति पुरुषले त्यहाँबाट निस्किए।
पछि बुझ्दै जाँदा पो थाहा भयो, ति पुरुषले यस्तो प्रकारको सापले छोरालाई टोकेको हो भनेर डाक्टरलाई देखाउन साप नै पक्रेर लगेका रहेछन्। तर, छोराको मृत्यु भएपछि भने आक्रोशित भएर डाक्टरकै लापरबाहीले छोराको मृत्यु भएको भन्ठानेर सापले नै डाक्टरहरूलाई टोकाउँछु भन्दै अस्पताल भित्र छिरेछन्।
साल निकालिदिएपछि जब सुत्केरीका परिवारले २३ हजार रकम दिन खोजे
करिब ३६ वर्ष अघि बागलुङको दुर्गम ठाउँबाट करिब ३५ वर्षकी सुत्केरी महिलालाई जिल्ला अस्पताल ल्याइएको थियो। ती महिलाको सालनाल अड्किएको रहेछ। त्यसैले हेलिकप्टरमा पोखरा लाने तयारी थियो। परिवारले हेलिकप्टर मगाएका रहेछन्।
...त्यसपछि परिवारले हेलिकप्टरका लागि खर्च हुने २३ हजार रकम डा. किरणलाई नै लिन अनुरोध गरे। तर, उनले त्यो रकम लिन मानिनन्।
हेलिकप्टर आउन्जेलका लागि भनेर बागलुङ अस्पतालमा बिसाइएको रहेछ। अस्पतालको नजिक एउटा ग्राउण्ड थियो। परिवारले त्यहिँ पोखराबाट हेलिकप्टर बोलाएका थिए। तर, हेलिकप्टर उडिसकेको थिएन।
अस्पतालमा बिरामी पुगेपछि डा. किरणले बिरामीको स्वास्थ्य अवस्था जाँचिन्। पिसाब राोकिएका कारण सालनाल अड्किएको रहेछ। त्यसैले उनले ती महिलाको पिसाब खोलिदिइन्। पिसाब खोलिदिएपछि त साल झरिहाल्यो।
त्यसपछि डा. किरणले ती महिलाका परिवार तथा आफन्तलाई ‘ल तपाईंको बिरामी ठिक हुनुभयो। अब चार घण्टापछि डिस्चार्ज गरिदिन्छु’ भनिन्।
सुरुमा त परिवारले पत्याएनन् तर साल निस्किएको थाहा पाएपछि ती महिला र उनका परिवार तथा आफन्त दङ्ग परे। अनि उनीहरूले हेलिकप्टर स्थगित गरे। त्यसपछि परिवारले हेलिकप्टरका लागि खर्च हुने २३ हजार रकम डा. किरणलाई नै लिन अनुरोध गरे। तर, उनले त्यो रकम लिन मानिनन्।
त्यसपछि ती महिलाका परिवारले अस्पतालमा पुगेका आर्थिक अवस्था कमजोर भएका बिरामी तथा बिरामीका आफन्तलाई खानपानका लागि अस्पतालमा नै त्यो रकम खर्च गर्न छोडिदिए।
साहित्यिक माहोलमा जन्म, छनोटमा डाक्टरी विषय
किरण काठमाडौंको ठमेलमा जन्मिएकी हुन्। त्योबेला उनका बुवाआमा ठमेलमा बस्थे। पछि लैनचौरमा बस्न थालेका हुन्। लैनचौरको कन्या हाइस्कुलबाट एसएलसी गरेकी उनले अमृत साइन्स क्याम्पसबाट आईएस्सी गरिन्।
साहित्यिक माहोलमा जन्मेर हुर्केकी उनलाई डाक्टर पढ्ने रहर थियो। त्यसैले आईएस्सीपछि सन् १९८० मा भारतको राँची पुगेर राजेन्द्र मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि भर्ना भइन्।
छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गरेकी उनको त्यहि समयमा विवाह भयो। सन् १९८६ मा एमबीबीएस सकेर स्वदेश फर्किएकी उनले त्रिभुवन विश्वविद्यालय शिक्षण (टिचिङ) अस्पतालमा कारार जागिरेको रूपमा काम सुरु गरिन्।
सुत्केरी विदा नदिएपछि टिचिङको जागिर छोडेको त्यो प्रसंग
डा. किरणले शिक्षण अस्पतालको मेडिसिन विभागमा करिब चार महिना काम गरिन्। त्यो बेला उनीकहाँ विशेषगरी महिलाहरू नै उपचारका लागि पुग्थे। पुरुषहरू भने महिला डाक्टर भएकाले उनीकहाँ जानै हिच्किचाउँथे।
त्यसपछि उनलाई ‘अब चाहिँ मैले स्त्री रोग विषय नै पढ्नुपर्ने रहेछ’ भन्ने लाग्यो। अनि डा. किरणले अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागमा सारिदिन अनुरोध गरिन्।
तर, त्यो बेला अस्पताल व्यवस्थापकले ‘तिमीले जहाँ भन्यो त्यहीँ काम गर्न कहाँ पाइन्छ? अस्पतालले खटाएको ठाउँमा काम गर्नुपर्छ’ भन्यो। अनुरोधपछि भने उनी प्रसूति तथा स्त्रीरोग विभागमा काम गर्न थालिन्।
डा. किरणलाई थप अध्ययन गर्नु त छँदै थियो। धनगढीको जागिरपछि डा. किरणले थप अध्ययनको लागि बिदा मागिन् तर पाइनन्। बिदा नपाए पनि उनले मन्त्रालयमा अध्ययन बिदाका लागि पत्र लेखिन् र एमडी अध्ययनका लागि भारत पुगिन्।
त्यहाँ काम गरेको केही महिनापछि उनको बच्चा जन्मने समय भयो। तर, उनले छुट्टी माग्दा पाइनन्। बरु छुट्टी माग्दा अस्पताल प्रशासनबाट जवाफ पाइन्, ‘छुट्टी पाउनुहुन्न। अहिले जागिर छोड्नु अनि फेरि पछि जागिर खान आउनु।’
त्यसपछि डा. किरणलाई अलि चित्त दुख्यो र सोचिन्, ‘मैले जति सेवा गरे पनि मलाई अप्ठेरो परेको बेलामा त यो संस्थाले हेर्दो रहेनछ।’
त्यसपछि उनले शिक्षण अस्पतालको जागिर छाडिन्। बच्चा जन्मियो।
बच्चा जन्मिएका केही हप्तामा नै बागलुङमा काम
बच्चा जन्मिएको दुई हप्तापछि नै फेरि डा. किरणलाई जागिर खाने हुटहुटी चल्यो। त्यसैले उनी जागिर माग्नका लागि स्वास्थ्य मन्त्रालय पुगिन्। बच्चा सानो अनि थप पढ्नका लागि समेत त्यो बेला असहज हुने भएकाले उनलाई दुर्गममा नै गएर काम गर्ने रहर थियो। उनका श्रीमान् पनि चिकिन्सक नै हुन्।
निक्कै मेहनतपछि उनी र उनका श्रीमान्लाई अस्थायी मेडिकल अधिकृतका रूपमा स्वास्थ्य मन्त्रालयले जागिर दियो। त्यसैले बच्चा जन्मिएको केही हप्तामा नै डा. किरण र उनका श्रीमान् सरकारी अस्थायी जागिरेका रूपमा बागलुङ जिल्ला अस्पताल पुगे।
त्यो बेला उनी दुब्ली पातली नै थिइन्। एकातर्फ महिला डाक्टर छिन् भनेपछि त्यो बेला बागलुङमा टाढा–टाढाबाट महिला बिरामीहरूलाई बोकेर उपचारका लागि पु¥याइन्थ्यो। अर्कोतर्फ कतिपय बिरामीले भने दुब्लो पातलो देखेर ‘ए डाक्टर भनेको त बालखी पो रहिछन् त’ भन्दै पत्याउँदैनथे रे।
बागलुङ पुगेको करिब डेढ महिनामा त डा. किरण लोकसेवामार्फत स्थायी मेडिकल अधिकृत चिकित्सकका रूपमा सरकारी जागिरे भइन्। त्यसपछि उनले अस्पताल प्रमुखको जिम्मेवारी पाइन्। सहरमा जन्मे हुर्केकी उनी सुत्केरी अवस्थादेखि करिब डेढ वर्ष उकालो ओरालो गर्दै बागलुङमा काम गरिन्।
बागलुङमा डेढ वर्ष काम गरेपछि उनी धनगढीको तत्कालीन सेती अञ्चल अस्पतालमा सरुवा भइन्। त्यहाँ उनले करिब तीन वर्ष काम गरिन्।
मन्त्रालयले अध्ययन बिदा नदिएपछि...
डा. किरणलाई थप अध्ययन गर्नु त छँदै थियो। धनगढीको जागिरपछि डा. किरणले थप अध्ययनको लागि बिदा मागिन् तर पाइनन्। बिदा नपाए पनि उनले मन्त्रालयमा अध्ययन बिदाका लागि पत्र लेखिन् र एमडी अध्ययनका लागि भारत पुगिन्।
भारतको चण्डीगढ स्थित पोष्ट ग्राजुएट इन्स्टिच्युड अफ एजुकेशन एण्ड रिसर्ज इन्स्टिच्युड (पिजिआईएमइआर)मा भर्ना भएर स्नातकोत्तर तहको प्रसूति तथा स्त्रीरोग विषय अध्ययन गर्न थालिन्। तीन वर्षे एमडी अध्ययन सकेर उनी नेपाल फर्किइन्। स्वास्थ्य मन्त्रालय गइन्।
उनको जागिर भने गएको रहेनछ। फर्केपछि उनलाई भक्तपुर सरुवा गरियो। तर, उनलाई भक्तपुर भन्दा पनि चितवनको भरतपुर अस्पतालमा काम गर्ने इच्छा थियो। निक्कै अनुरोध गरेपछि डा. किरण सरुवा भएर भरपुर अस्पताल पुगिन्।
मन्त्रालयमा उनको काम हाजिर गर्ने र फर्कने मात्रै भयो। यतिसम्मकी उनको कार्यकक्षमा सरसफाइ गर्ने कर्मचारी समेत पुग्दैन थिए। त्यसैले ढोका थुनेर उनी आफैँ सरसफाइ गर्थिन्।
त्यसपछि निरन्तर १४ वर्ष भरतपुर अस्पतालमा नै रहेर उनले काम गरिन्। उनी त्यहाँ पुग्दा विशेषज्ञका रूपमा काम गरेपनि आठौं तहको मेडिकल अधिकृत थिइन्। भरतपुर पुगेपछि खुला प्रतिष्पर्धाबाट नवौं तहको प्रसूति तथा स्त्रीरोग विशेषज्ञमा प्रवेश गरिन्। त्यसपछि दशौं तहकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञमा उनी बढुवा भइन्।
संघर्ष गर्दै विधावारिधि र पोष्ट डक्टरेट अध्ययन
भरतपुरमा काम गर्दा–गर्दै डा. किरणलाई नीति निर्माण तथा निर्णय तहको पनि काम गर्नुपर्छ भन्ने सोच आयो।
त्यसैले छात्रवृति पाएर जनस्वास्थ्य विषय (मास्टर्स इन पब्लिक हेल्थ) अध्ययनका लागि सन् १९९९ मा स्कटल्याण्ड पुगिन्। त्यो बेला पनि उनले अध्ययन बिदाका लागि मन्त्रालयमा निवेदन लेखिन्। तर, स्वीकृत गरिदिन निक्कै आनाकानी गरेको उनको अनुभव छ। एक वर्षे अध्ययन गरेर फर्केपछि पुनः भरतपुर अस्पतालमा नै काम गर्न थालिन्।
त्यसो त डा. किरणलाई अध्ययनको भोक मरेकै थिएन। त्यसैले उनी विद्यावारिधि अध्ययनका लागि अष्ट्रेलियाको न्यु इङ्ल्याण्ड युनिभर्सिटीमा पुगिन्। बेला–बेलामा उनी अष्ट्रेलिया पुग्थिन्। डा. किरणले विद्यावारिधिको अनुसन्धान क्षेत्र भने नेपाललाई नै बनाइन्। उनले सन् २००५ मा तीन वर्षे विधावारिधि पनि सकिन्।
श्रीमान् आईसीयूमा हुँदा मन्त्रीले बोलाएर सरुवा गरिदिएको त्यो क्षण...
विधावारिधि गरेको केही समयपछि फेरि खुला प्रतिष्पर्धाबाट नै डा. किरण ११औं तहमा पुगिन् र पोष्टिङ भएर भरतपुर अस्पताल नै पुगिन्। त्यसो त विधावारिधि सकेको एक वर्षपछि उनले हावर्ड युनिभर्सिटीमा एक वर्षे पोष्ट डक्टरेट समेत अध्ययन गरिन्। तर, स्वास्थ्य मन्त्रालयले उनलाई सरुवा भएर काठमाडौं आउन दिएनछ।
‘विधावारिधि गरेपछि पनि चार वर्ष भरतपुरमा नै काम गरेँ, मलाई यहाँ आउन दिएनन्’, उनले भनिन्।
निक्कै संघर्ष गरेपछि सन् २०११ मा सरुवा भई टेकुस्थित परिवार स्वास्थ्य महाशाखाको प्रमुख भएर उनी आइन्। त्यहाँबाट दुई महिनामा नै उनलाई वीरगंज उपक्षेत्रीय अस्पताल सरुवा गरियो।
तर, उनी लामो समय दुर्गम र उपत्यका बाहिर काम गरेकाले वीरगञ्ज गइनन्। त्यसैले काज सरुवा भएर प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह) थापाथलीमा पुगिन्। त्यहाँ उनले दुई वर्ष काम गरिन्।
त्यसपछि फेरि उनलाई परिवार स्वास्थ्य महाशाखामा नै ल्याइयो। महाशाखामा करिब १४ महिना काम गरेपछि उनलाई तत्कालीन मन्त्रीले फेरि भरतपुर अस्पतालमा नै जुनियरको अण्डरमा रहनेगरी काम गर्न पठाए।
त्यो बेला उनका श्रीमान् बिरामी भएर अस्पतालको आईसीयूमा उपचाररत थिए। त्यहि बेलामा तत्कालीन स्वास्थ्यमन्त्रीले बोलाएर आफूलाई सरुवा गरेको उनले सुनाइन्।
‘आईसीयूमा श्रीमान् भर्ना भएको बेला एकैछिन आउनु भनेर बोलाएर भरतपुरमा सरुवा गरेको छु जानुहोस् भन्नुभयो’, उनले त्यो बेलाको प्रसङ्ग सुनाइन्।
डा. किरण सचिव हुने लाइनमा थिइन्। त्यो समयमा आफू मात्रै सचिव हुन योग्य भएको दाबी गर्दै उनले भनिन्, ‘सायद त्यहि भएर सरुवा गरेर भरतपुर पठाएका थिए।’
पावर नहुँदा कार्यालय सहयोगिले समेत पत्याएनन्
केही समयपछि डा. किरणलाई भरतपुरमा नै दरबन्दी राखेर मन्त्रालयको समन्वय महाशाखामा कामकाजका लागि भन्दै सरुवा गरियो। तर, जिम्मेवारी दिइएन।
मन्त्रालयमा उनको काम हाजिर गर्ने र फर्कने मात्रै भयो। यतिसम्मकी उनको कार्यकक्षमा सरसफाइ गर्ने कर्मचारी समेत पुग्दैन थिए। त्यसैले ढोका थुनेर उनी आफैँ सरसफाइ गर्थिन्।
डा. किरण सचिव हुँदा गिरिराजमणि पोख्रेल र दिपक बोहोरा स्वास्थ्य मन्त्री भएका थिए। पोख्रेललाई नियम कानूनमा बस्ने मन्त्रीमा रूपमा चिन्छिन् उनी।
‘पावर नै नभएको कर्मचारी भनेपछि साफसफाई गर्ने कर्मचारीले समेत मेरो कार्यकक्ष सफा गरिदिँदैन थिए’, उनले त्यो बेलाको तीतो अनुभव सुनाइन्।
त्यो बेला मन्त्रीले काम छाडेर जाओस् भन्ने जसरी गरेर निक्कै दुःख दिएको उनले गुनासो पोखिन्।
सात महिने सचिवको त्यो जिम्मेवारी
डा. किरण निक्कै संघर्षका साथ १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवा समेत भइन्। त्यो बेला बढुवा गर्दासमेत मन्त्रीले दुःख दिएको उनको अनुभव छ। तर, उनी सचिवका लागि योग्य भए पनि तत्कालिन मन्त्रीले उनलाई सचिव हुन दिएनन्।
बीचमा अरु नै कर्मचारी स्वास्थ्य सचिव भए। त्यो बेला सरकार परिवर्तन भयो। उता सचिव डा. सेनेन्द्रराज उप्रेतीले अनिवार्य उमेर हदका कारण अवकास पाए। त्यसपछि डा. किरण स्वास्थ्य सचिवमा नियुक्त भइन्। १२ औं तहमा बढुवा भएको करिब अढाई वर्षपछि डा. किरणले सचिवको जिम्मेवारी पाइन्।
त्यसो त मन्त्रालयमा सचिव भएपछि सबैभन्दा पहिले कार्यालय सहयोगी तथा सरसफाइ कर्मचारीसँग बैठक गरेको उनले सुनाइन्। यस्तो बैठकले कर्मचारीको समस्या सुन्न र समाधानको उपाय खोज्नसमेत सहज भएको उनले सुनाइन्।
डा. किरण सचिव हुँदा गिरिराजमणि पोख्रेल र दिपक बोहोरा स्वास्थ्य मन्त्री भएका थिए। पोख्रेललाई नियम कानूनमा बस्ने मन्त्रीमा रूपमा चिन्छिन् उनी।
उनले सात महिना सचिवको जिम्मेवारीमा रहेर काम गरिन्। त्यसपछि उमेर हदका कारण अनिवार्य अवकास पाइन्। कहिलेकाहिँ विवादस्पद फाइल सचिवको टेबलमा आउँदा मन्त्रीसँग टसल परे पनि कहिल्यै अनैतिक कामका लागि आएका फाइलमा हस्ताक्षर नगरेको उनले सुनाइन्।
त्यसो त ११औं तहमा बढुवा भएर परिवार स्वास्थ्य महाशाखामा सरुवा भएदेखि नै उनले बिरामीको उपचार (क्लिनिकल प्राक्टिस) गर्न छाडिन्। त्यसैले सचिवको जिम्मेवारीमा भएको समयमा त उनले यो काम छाडिन् नै अहिले पनि परिवारका सदस्य बाहेकलाई उनी औषधि उपचार गर्दिनन्।
११औं तहपछि प्रशासनिक भूमिकामा रहेकाले दुईतिर न्याय गर्न सकिँदैन भनेर ‘क्लिनिकल प्राक्टिस’ गर्न छाडेको उनले सुनाइन्। तर, अहिले पनि उनी स्वास्थ्यका नीति निर्माण लगायतका काममा सक्रिय छन्।
साउन १३, २०८० शनिबार २१:५३:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।