मेची भन्सारमा सर्वसाधारणलाई कडाइ, करोडौं सामानसहितको कन्टेनर भने बिनाभन्सार भित्रियो

मेची भन्सारमा सर्वसाधारणलाई कडाइ, करोडौं सामानसहितको कन्टेनर भने बिनाभन्सार भित्रियो

मेचीनगर : पूर्वकै सबैभन्दा ठूलो मेची भन्सार कार्यालय काँकडभिट्टा नाका भएर १ करोड १ लाख मूल्य बराबरको सामानसहित एउटा कन्टेनर बिनाभन्सार भित्रिएको पाइएको छ।

सर्वसाधारणलाई भने १०० रुपैयाँभन्दा बढीको सामानमा भन्सारले कर लगाउँदै आएको छ। 

भन्सारमा राजश्व नतिरी निस्किएको उक्त कन्टेनरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको घुमुवा प्रहरीको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टाको समन्वयमा नियन्त्रणमा लिएपछि उक्त रहस्य सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त प्रहरी टोलीले हिजो साँझ अन्दाजी साढे सात बजे विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत मेचीनगर-६ स्थित पुरानो भन्सार ट्राफिक पोस्ट नजिकैबाट कन्टेनरलाई नियन्त्रणमा लिएको छ भने उक्त कन्टेनरका चालक फरार भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए। 

प्रहरीले ना ६ ख ४९०२ नम्बरको कन्टेनरलाई नियन्त्रणमा लिएसँगै उक्त कन्टेनरका चालक फरार भएका र उक्त कन्टेनर इप्रका काकडभिट्टामा ल्याएर जाँच गर्दा १ करोड १ लाख बराबरको सामान पाइएको हो

ट्रकको मूल्यसहित १ करोड २१ लाख हुन आउने प्रहरीले जानकारी दिएको छ।

उक्त कन्टेनरमा ७ लाख २० हजार बराबरको हुक्कामा प्रयोग हुने कोकोजेल चारकोल ६० कार्टुन, २० लाख मूल्य बराबरको अफजोल फ्लेभर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको काँचको झ्याम्टा २ हजार ४ सय ६५ केजी, १२ हजार ५०० मूल्य बराबरको टेलिफोन साबुन २५ कार्टुन गरी १ करोड १ लाख २७ हजार ५ सय बराबरको सामान रहेको र ट्रकको अन्दाजी मूल्य २० लाख गरी जम्म १ करोड २१ लाख २७ हजार ५ सय बराबरको सामान राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाउने तयारी भएको झापा प्रहरी प्रवक्ता रिजालले जानकारी दिए।

साउन १३, २०८० शनिबार १४:२२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।