अभिनेता सलोन आफ्नो फिल्म हलमा हेर्न सक्दैनन्, आफ्नो आवाज सुन्दा आफैंलाई टेन्सन हुन्छ
काठमाडौं : बाल कलाकारदेखि नेपाली फिल्ममा अभिनयको यात्रा सुरु गरेका अभिनेता हुन् सलोन बस्नेत। २५ वर्षअघि ६ वर्षको उमेरमा नै ‘नेपाली बाबु’बाट उनले फिल्ममा डेब्यु गरेका थिए।
पहिलो फिल्म नै हिट भएपछि उनले अहिलेसम्म पछाडि फर्केर हेर्नु परेको छैन। अभिनेताको रुपमा होस्टेल, आभास, लब सब, बाबु कान्छा हुँदै अहिले उनको फिल्म ‘जय हो’ प्रदर्शनको तयारीमा रहेको छ।
उनै अभिनेता सलोनसँग उनको फिल्मी यात्रा र फिल्मका बारेमा उकेराकर्मी भोला अधिकारीले गरेको संक्षिप्त कुराकानी:
निकै व्यस्त हुनुहुन्छ है?
हजुर, अहिले एकदमै व्यस्त छु। आफ्नै फिल्म ‘जय हो’को प्रमोसनले गर्दा पनि मलाई दौडधूप बनाइरहेको छ। जिन्दगी नै जय हो मय भएको हुनाले व्यस्त भएको भन्नुपर्यो।
६ वर्षको उमेरमा नै फिल्म ‘नेपाली बाबु’मा अभिनय गर्नुभएको थियो, कतिको याद छ ती क्षण?
सबै कुराहरु त त्यति याद आउँदैन। धेरै सानो थिएँ। तर ‘नेपाली बाबु’मा मैले गरेको गाडीको पछाडि झुन्डिएर घिस्रिने सिन, अनि क्लाईमेक्स सिनहरु भने मानसपटलमा अहिले पनि ताजै छन्। गाडीको पछाडि दौडने मेरो सिन हेर्नुभयो भने पनि थाहा हुन्छ म कति रोएको छु। त्यो मैले एक्टिङ गरेको थिइनँ, म साँच्चिकै रोइरहेको थिए।
किन साँच्चिकै रोएको?
माघ महिनामा सुटिङ भएको हो। बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल फिल्म विकास कम्पनी (एनएफडिसी)मा सुटिङ भएको थियो। मैले थाहा पाउँदा त्यहाँ सेट लगाएर सिन निकालिएको थियो। दुई रातसम्म ४ ट्याङ्कर पानी खन्याएर सुट गरिएको थियो। त्यो जाडो समयमा ममाथी नै पानी खन्याइएको थियो। जाडोले म कति रोएको थिए फिल्म हेर्दा नै थाहा हुन्छ। त्यो मैले अभिनय गरेकै थिइनँ। पहिलो टेकपछि म ननस्टप जाडोले रोइरहेको थिए। यो सुटिङपछि मलाई अति गाह्रो भएको थियो।
तपाईंलाई आफू अभिनयकै लागि जन्मिएको भन्ने लाग्छ कि लाग्दैन?
लाग्छ नि। त्यही भएर त अहिले जय हो सम्म पनि निरन्तर अभिनय गरिरहेको छु। मलाई कहिलेकाहीं मेरो बुबा शोभित बस्नेतले पनि भन्नु हुन्छ। म ५ महिनाको हुँदा नै नेपालमा बनेको भिडियो फिल्ममा अभिनय गराइदिनु भएको थियो रे। मलाई त्यो बेला नै क्यामेराको अगाडि पहिलो पटक फेस गराइदिनु भएको थियो रे। त्यसैको प्रभाव हो या के हो थाहा छैन, अहिलेसम्म यतिका फिल्ममा काम गरिरहेको छु।
अर्को कुरा म ‘नेपाली बाबुमा’ अभिनय गर्नुभन्दा अघि स्कुलमा हुने कार्यक्रममा डान्स गर्ने, अभिनय गर्ने गरिरहेको हुन्थें। मलाई अभिनय गर्न सानैबाट रहर लाग्थ्यो।
बाल्यकालकै कुरा गरिरहेका छौं, ‘नेपाली बाबु’मा चाहिं कसरी अवसर जुर्यो?
मैले अघि नै भनें नि म स्कुलमा डान्स गर्ने, अभिनय गर्ने काम गर्दै आएको थिएँ। एक दिन स्कुलको कार्यक्रममा भुवन केसी अंकल अतिथिका रुपमा आउनुभएको थियो। उहाँले मेरो अभिनय, डान्स देखेपछि मलाई फिल्मका लागि अफर गर्नुभएको हो। अनि बुबाले हुन्छ भनेर खेलेको थिएँ। मैले जानेर फिल्ममा काम गरेको हैन। किनभने मेरो जान्ने उमेर नै थिएन त्यो। तर अडियन्सले अत्यधिक माया गरिदिनु भएपछि नै हो मेरो फिल्मको यात्रा सुरु भएको।
परिवार नै कलाकारमय भएर पनि तपाईंमा अभिनयको गुण सरेको पो हो की?
सर्देको भए त धेरै राम्रो हो। तर, मैले कलाकारिताको लागि स्कुलिङ त गरेको छैन। बच्चाबेला देखि नै अभिनय गर्दै आए। मैले नेपालमा अब्बल मानिनुभएको कलाकारहरुसँग पनि अभिनय गर्ने मौका पाए। यो मेरो लागि एकदमै सुवर्ण अवसर थियो र हो भन्छु। मैले त उहाँहरुसँग नै सिकिरहेको छु कतिपय कुराहरु। मलाई लाग्छ,उहाँहरुले यसो गर उसो गर भनेर काँचो उमेरमा नै भनेको हुनाले पनि धेरै कुरा सिक्ने मौका पाएँ। धेरै कुरा सिकाउनु भएकोले केही हदसम्म मैले जान्ने मौका पाएँ।
तपाईंले कलाकारितामा नजानेको चाहि के लाग्छ?
मैले त केही जानेकै छैन। मलाईं के लाग्छ भने हरेक फिल्ममा अभिनय गर्दा नजानेको जस्तै लाग्दो रहेछ। केही नआएको जस्तै भइँदो रहेछ। सुटिङ अघि स्कृप्ट आउँछ, त्यो पढ्यो, त्यसलाई म यस्तो गर्छु, उस्तो गर्छु भनेर प्लानिङ बनायो अनि फिल्डमा गइन्छ र गरिन्छ पनि। त्यो फिल्म रिलिजको समयमा हेर्ने बेलामा आफ्नो अभिनय आफैंलाई मन पर्दैन। अनि यहाँनेर यस्तो गर्या भए हुने रैछ, उस्तो गर्या भए हुने रैछ भन्ने लाग्छ। आफ्नो कमिकमजोरीहरु ठ्याक्कै देखिन्छ अनि अझै केही जानेको छु जस्तो लाग्दैन।
आफूले आफ्नो कमजोरी पत्ता लगाएपछि अर्को फिल्ममा सच्याउने काम गर्नुहुन्न?
गर्छु नि। दुई तीन टेकसम्म गरेको हुन्छु। फेरि निर्देशकले भनेको र मबाट खोजेको कुरा आयो होला भन्छु अनि त्यसपछि गर्दिनँ। मलाई के लाग्छ भने निर्देशक भनेको त एउटा कप्तान हो नि त। उहाँको भिजन हुन्छ नि सिनेमालाई कस्तो बनाउने भनेर। निर्देशकले खोजेको चिज मबाट आइसकेको होला। उहाँको भिजन फेरि बिग्रेला जस्तो पनि लाग्छ। आफूले बिगारेको त आफूलाई थाहा भइहाल्छ नि। अरूले बिगारेको नदेखे पनि आफूलाई त ठ्याक्कै थाहा हुन्छ।
तपाईंले आफ्नो सबै फिल्म हेर्नुभएको छ?
सबै त मैले हेरेको छैन। म आफ्नो फिल्म आफैं हेर्न सक्दिनँ नि। मलाई गाह्रो हुन्छ। फिल्म हेर्दा सबैभन्दा गाह्रो लाग्ने भनेको आफ्नो आवाज सुन्न। मलाई आफ्नो आवाज नै मन पर्दैन। आफ्नो कुनै कुनै फिल्म पनि प्रिमियर हुँदा मात्रै हेरेको छु। त्यो पनि गाह्रो मानि मानि।
आफ्नै फिल्मको प्रिमियर पनि हेर्दा हेर्दै हराउनुहुन्छ रे नि?
हो, प्रिमियर भएको बेलामा आधा घण्टा, ४५ मिनेट गायब पनि भइदिन्छु म। मलाई कस्तो हुन्छ भने हल बाहिर पनि आवाज आफ्नो नसुनियोस् भन्ने लाग्छ। बरु म युटुयूबमा आइसकेपछि घरमा कोही नभएको समयमा एक्लै हेर्ने गर्छु।
सलोनले एक्लै नायक भएर खेलेको फिल्म चल्दैन, उसलाई अर्को पनि नायकको आवश्यकता पर्छ भनेर आरोप लाग्ने गरेको छ नि?
म अभिनेताका रुपमा होस्टेलबाट आएको हुँ। त्यसमा मैले सपोर्टिङ क्यारेक्टरमा नै अभिनय गरेको थिए। यो फिल्म एकदमै चल्यो पनि। अनि निर्देशक, निर्माताले सलोनलाई लिएपछि अर्को अभिनेता राख्नैपर्छ भन्ने थाल्नुभयो। दुईचारवटा फिल्ममा काम गरेपछि अडियन्समा पनि त्यही खालको छाप पर्यो। फिल्म मेकरहरुले पनि अडियन्सको रुचि अनुसार नै कलाकार छनोट गर्न थालेपछि यस्तो भएको हो।
फिल्म खेल्दा केलाई प्राथमिकतामा राख्नुहुन्छ, कथा ,कलाकार, निर्माता कि पैसा?
तपाईंले जे जे भन्नुभयो, म ती सबै हेर्छु। यसमा पैसाभन्दा पनि निर्माता, निर्देशक र कथा नै हेर्छु। टिम र कथा राम्रो भयो भने त फिल्म राम्रो भइहाल्यो नि, हैन र?
तपाईं आफैंले नायकत्व गरेको फिल्म ‘बाबु कान्छा’ असफल भयो नि, यसलाई कसरी लिनुहुन्छ?
केही फिल्महरु असफल भए। यस कुरामा म अरूलाई दोष दिन चाहान्न। यसमा मेरा आफ्नै गल्ती पनि भइदियो। कतिपय सिनेमाहरु सोचेको जस्तो व्यावसायिक बन्दिएन। यसमा मेरो कमजोरी हो।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जय हो’मा ती कमी कमजोरीलाई सच्याउनु भएको छ?
हो, पुराना गल्ती सच्याउँदै नयाँ फिल्म ‘जय हो’ मा जोस जाँगरका साथ काम गरेको छु। तपाईंले यो फिल्मबाट पक्कै पनि सन्तुष्टि पाउनुहुनेछ भन्ने मलाई लाग्छ। यसमा म लगायत केकी अधिकारी, निशा अधिकारी, अर्पण थापा, माहोत्से गुरुङ लगायत कलाकारले अभिनय गर्नुभएको छ। उहाँहरुबाट सिक्ने मौका पनि पाएँ। यो फिल्म अब्बल बनेको छ। दर्शकले रुचाउनुहुन्छ। यसमा म विश्वस्त छु।
यो फिल्ममा काम गर्दाका केही नयाँ अनुभव छ?
एकदमै छ। म जोमसोमा सुटिङका लागि कति पटक पुगिसकेको थिएँ। तर, यो सुटिङमा जाँदा मैले पहिलो पटक हावा आएको कस्तो हुन्छ भनेर देखें। हावा यति ठूलो आउँथ्यो कि सुटिङ गर्दा गर्दै ठेलेर हुत्याउथ्यों। अर्पण थापा र मेरो फाइटको सिन थियो। हावाले सिन गर्न नै धेरै बेर लागेको थियो।
हावा आयो है भन्ने देखेपछि गाडी भित्र लुक्न भ्याइन्थ्यो। हावा आयो कि हतार हतार गाडी भित्र छिर्थ्यौं। हावा आइसकेपछि गाडी नै हल्लाउँथ्यो।
धेरै दर्शकले तपाईंलाई अभिनेताका रुपमा मात्र चिन्ने गरेका छन्। तपाईंको परिचय ‘जय हो’बाट फेरिंदैछ भन्ने सुनेको थिएँ, के साँच्चै हो ?
परिचय त फेरिंदैन होला। मैले यो फिल्मको एउटा गीतमा शब्द र संगीतसँगै गाएको पनि छु। मलाई सानैबाट संगीत मन पर्ने भएकोले पनि मैले सिकेको थिएँ। अहिले पनि गुनगुनाइरहेको हुन्छु।
अन्त्यमा आफ्ना दर्शकलाई के भन्न चाहनु हुन्छ?
मलाई अहिलेसम्म माया गरिरहनु भएको छ। मेरो मुभी ‘जय हो’ भदौ ८ गते देशभर रिलिज हुन लागिरहेको छ हेर्नुहोला भन्न चाहन्छु। के कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला पनि भन्न चाहन्छु।
सलोनसँगको पुरा अन्तरवार्ता युटुयूबमा
साउन १३, २०८० शनिबार १५:३७:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।