जुनसुकै दल, परिवार तथा ओहदाका व्यक्ति हुन्, भ्रष्टाचारमा संलग्न हुनेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

जुनसुकै दल, परिवार तथा ओहदाका व्यक्ति हुन्, भ्रष्टाचारमा संलग्न हुनेलाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिति र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

गोकर्णेश्वरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए।

वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए।

‘भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियान रोकिंदैन,’ उनले भने, ‘जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ।’

मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचार विरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको उनले बताए।

उनले भने, ‘भ्रष्टाचारविरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ।’ भ्रष्टाचार विरोधी अभियानको विपक्षमा आवाज उठाउनेबाट सरकारको यस अभियानलाई कुनै पनि हालतमा विश्राम दिन नसक्ने उनको भनाइ थियो।

साउन १३, २०८० शनिबार १२:४५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।