लक्ष्य अगावै नेपालले बाघको संख्या दोब्बर बनायो : प्रचण्ड

लक्ष्य अगावै नेपालले बाघको संख्या दोब्बर बनायो : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघ लगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।

विश्व बाघ दिवसका अवसरमा शनिबार उनले नेपालले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएकामा सो लक्ष्य निर्धारित अवधि अगावै पूरा भएकामा सबैप्रति बधाई ज्ञापन गरे।
 
नेपालले सन् २०१० मा रसियाको सेन्ट्स पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य लिएको थियो। सो लक्ष्य तोकिएको अवधि अगावै पूरा भएको छ।

उनले निर्धारित लक्ष्य हासिल गर्न क्रियाशील वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भू–संरक्षण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरक्षण साझेदार संस्था, कर्मचारी र स्थानीय समुदायलाई धन्यवाद दिए।
 
प्रधानमन्त्री दाहालले बाघको सङ्ख्या वृद्धि भएसँगै मानव र बाघबीचमा हुने आपसी द्वन्द्वका घटनामा समेत वृद्धि भएको उल्लेख गरे।

बाघ र मानिसबीचको सहअस्तित्व कायम राख्न संरक्षित क्षेत्रको प्रभावकारी संरक्षण गरी आहारा प्रजातिको उपलब्धता बढाउन र बासस्थान व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले स्थानीय समुदायको जीविकोपार्जनमा समेत सुधार हुनुपर्ने बताए।

साउन १३, २०८० शनिबार ११:५१:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।