पार्क निर्माणमा अनियमितता : तत्कालीन निमित्ति प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पार्क निर्माणमा अनियमितता : तत्कालीन निमित्ति प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : पार्क निर्माणमा अनियमितता गरेको आरोपमा मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्ललगायत सात जनाविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अधिकृत मल्ल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, कम्प्युटर अप्रेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेशसिंह कठायत, तत्कालीन असिस्टेन्ट सबइन्जिनियर हस्तबहादुर मल्ल, उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलविरुद्ध मुद्दा दायर गरिएको हो।

जिल्ला वन कार्यालयको स्वामित्वमा रहेको जिल्ला वन कार्यालयको कम्पाउन्डभित्रको जग्गामा अनुमति नलिई र निर्माणस्थलको टुंगो नलगाई पार्क निर्माणका लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरेको अख्तियारको आरोप छ।

उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५ सय रुपैयाँ पेस्की उपलब्ध गराएको र जिल्ला वन कार्यालयले अनुमति नदिएकाले सम्झौताबमोजिम पार्क निर्माण हुन नसक्ने अवस्था भई निर्मित संरचनासमेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको अख्तियारले जनाएको छ।

उपभोक्ता समितिका अध्यक्ष  र कोषाध्यक्षलाई ३३ लाख ८२ हजार ४१७ रुपैयाँ बिगो कायम गरिएको छ।

१३ साउन, २०८०, ०९:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।