बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसा भइरहेको छः राष्ट्रपति

बाघ संरक्षणमा नेपालले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसा भइरहेको छः राष्ट्रपति

काठमाडौँ : आज जुलाई २९ तारिखका दिन संसारभर  ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने सङ्कल्पका साथ विश्व बाघ दिवस मनाइँदै छ।

यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी राष्ट्रपति रामचन्द्र पौडलले शुभकामना गरेका छन्। 

नेपालले करिब एक दशकअघि रूसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनमा यसै वर्ष (सन् २०२२) भित्र नेपालमा रहेका बाघको सङ्ख्या दोब्बर बनाउने  प्रतिबद्धता जनाएको थियो।

जसअनुसार सन् २०१८ मा नेपालमा बाघको सङ्ख्या २३५ पुगेको र हाल आफ्नो लक्ष्य हासिल गर्नेतर्फ उन्मुख रहेकाले बाघ संरक्षणमा मुलुकले लिएको अग्रसरता अन्तर्राष्ट्रिय जगतमा प्रशंसित भइरहेको राष्ट्रपतिको शुभकामनामा भनिएको छ।

बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले संसारभर सकारात्मक पहिचान बनाउन सफल हुनु प्रसन्नताको विषय भएको राष्ट्रिपतिद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ। 

शुभकामनामा भनिएको छ -

'हाम्रो देशका विभिन्न भागमा स्थापित  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष क्षेत्रको विकासले बाघको बासस्थानलाई सुरक्षित बनाउन टेवा पुगेको छ। बाघको चोरी शिकारी तथा बाघका अङ्गहरूको अवैध व्यापार गर्ने ध्येयले गरिने आखेटोपहार ओसारपसार नियन्त्रणको लागि नेपालका सम्बद्ध निकायले निर्वाह गरेको भूमिकाबाट विश्वव्यापी बाघ संरक्षणको पहलकदमीलाई  सार्थक बनाउन थप मद्दत मिलेको छ। वन्यजन्तु संरक्षणका क्षेत्रमा विद्यमान नीति र कानुनी व्यवस्थालाई प्रकृति संरक्षणको अभिन्न अङ्गका रूपमा कार्यान्वयन गर्न सबैको दिगो सक्रियता आवश्यक पर्दछ।

बाघको सङ्ख्या बढेसँगै वन्यजन्तु र मानव बीचको द्वन्द्व न्यूनीकरण गर्नका लागि बाघ विचरण गर्ने वन क्षेत्रको विस्तार‚ बाघका लागि आवश्यक आहारा हुने वन्यजन्तुको सङ्ख्या वृद्धि र मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने समुदायमा सचेतना अभिवृद्धिका साथै वैकल्पिक जीविकोपार्जनका उपायहरूको उचित व्यवस्थापन गर्न सम्बद्ध पक्षले ध्यान पुर्याउनु पर्दछ। बाघको संरक्षण र संख्या वृद्धि  नेपालको पर्यटन प्रवर्द्धन एवम् आर्थिक विकासका लागि समेत महत्त्वपूर्ण हुने भएकाले संरक्षणका नवीनतम उपायहरू अवलम्बन गर्दै यसलाई निरन्तरता दिन सम्बद्ध निकाय, जनसमुदाय र संरक्षणकर्मीहरूलाई आव्हान गर्दछु।

अन्तमा, जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभाव न्यूनीकरणका लागि जैविक विविधताको संरक्षण गर्न एवम् स्वस्थ पारिस्थितिक प्रणालीको निर्माणमा समेत योगदान गर्ने दुर्लभ वन्यजन्तु बाघको संरक्षणमा अझ ऊर्जाशील भई लागिरहन विश्व बाघ दिवसले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दछु। धन्यवाद।

साउन १३, २०८० शनिबार ०८:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।