बालकलाई गलत खोप दिएको ठहर गर्दै सर्वोच्चले कान्ति अस्पताललाई तोक्यो ३० लाख क्षतिपूर्ति

बालकलाई गलत खोप दिएको ठहर गर्दै सर्वोच्चले कान्ति अस्पताललाई तोक्यो ३० लाख क्षतिपूर्ति

काठमाडौँ : एक बालकलाई गलत खोप लगाएर चिकित्सकीय लापरबाही गरेको ठहर गर्दै सर्वोच्च अदालतले कान्ति बाल अस्पताललाई ३० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रवार यस्तो आदेश दिएको हो। फैसला २०७९ माघ २५ गते भएको थियो। पूर्णपाठ भने तीन दिन अगाडि आएको हो।

घाँटीमा समस्या भएर कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न पुगेका ८ महिनाका बालक आलोक बराललाई गलत सुइँ दिँदा क्षति पुगेको अदालतले ठहर गरेको हो।

पीडित बालकका बुबा ध्रुवकुमार विश्वकर्माले अर्कै बालकका लागि तयार पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आफ्नो बच्चामा लगाउँदा उनको स्वास्थ्यमा क्षति पुगेको भन्दै अस्पतालविरुद्ध मुद्दा दायर गरेका थिए।

२०७३ साल असार २२ गते ती बालकलाई उपचारका लागि कान्ति अस्पतालको इमर्जेन्सीमा लगिएको थियो । त्यही राति नर्सले अर्कै बालकका लागि तयारी पारिएको ‘मेनेन्जाइटिस मलेरिया’को खोप आलोकलाई लगाइएको अदालतले ठहर गरेको छ।

गलत खोप दिएपछि बच्चामा सास फेर्न गाह्रो हुने, दिसा, पिसाब चुहिने जस्ता लक्षण देखिएको थियो। बालकको स्वास्थ्य अवस्था जटिल भएपछि स्वास्थ्यकर्मीले बालकलाई अन्तर्राष्ट्रिय बाल मैत्री अस्पतालमा रिफर गरेका थिए। बालकलाई २८ दिन भेन्टिलेटरमा राखेर उपचार गर्नु परेको थियो।

उपचार भएको १८ महिनापछि बच्चाको खुट्टा नचल्ने, कान नसुन्ने, आँखाको नसा सुकेर आँखा नदेखिने समस्या देखियो। अदालतले बालकमा देखिएका ती प्रभावको कारक मेनेन्जाइटिस मलेरियाको खोपका कारण भएको पुष्टि गरेको छ।

अदालतले अस्पतालको लापरबाहीका कारण गलत औषधिको प्रयोगले आठ महिनाको बच्चाको ज्यान नै जान सक्ने गरी आजीवन शारीरिक तथा मानसिक असर परेकाले बालकलाई अस्पतालबाट क्षतिपूर्ति भराई दिनुपर्ने आदेश दियो।

जिल्ला क्षतिपूर्ति समिति काठमाडौँले अस्पतालले १५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने निर्णय गरेको थियो। पीडित पक्ष जिल्ला, उच्च हुँदै सर्वोच्चमा पुनरावेदनमा गएको हो।

साउन १२, २०८० शुक्रबार २०:४९:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।