आफ्नै छोरी बलात्कारको कसुरमा बाबु पक्राउ

आफ्नै छोरी बलात्कारको कसुरमा बाबु पक्राउ

काठमाडौं : आफ्नै १७ वर्षीय छोरी बलात्कार गरेको कसुरमा प्रहरीले दाङका एक पुरुषलाई पक्राउ गरेकाे छ।

धादिङको धुनिवेशी नगरपालिका–१ जीवनपुरस्थित इँट्टा उद्योगमा २०७९ पुसदेखि २०८० वैशाख ११ गतेसम्म सँगै काम गर्दै उनी छोरीसँग एउटै कोठामा बस्दै आएका थिए।

त्यसैक्रममा छोरीमाथि पटक-पटक बलात्कार गरेको पीडित नाबालिकाले दिएको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

पटक-पटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ। धादिङको इँट्टा उद्योगमा काम गर्दै आए पनि उनीहरू दाङ पुगेपछि मात्रै घटना बाहिरिएको हो।

पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकीछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो।

घटना धादिङ जिल्लामा भएकाले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले शुक्रबार तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जैसवारले बताए।

साउन १२, २०८० शुक्रबार २०:२८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।