बंगलादेशलाई विद्युत् बेच्ने काम अब कार्यान्वयनको चरणमा जान्छ : प्रचण्ड

बंगलादेशलाई विद्युत् बेच्ने काम अब कार्यान्वयनको चरणमा जान्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बंगलादेश सरकार नेपालबाट विद्युत किन्न इच्छुक रहेको बताएका छन्। 

इटाली भ्रमणबाट स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो इटाली भ्रमण सफल भएको बताए। 

उनले सम्मेलनका क्रममा बंगलादेशका प्रधानमन्त्री शेख हसिनासँग भएको द्विपक्षीय भेटघाटमा नेपाल र बंगलादेश बीचको मैत्रीपूर्ण सम्बन्ध, आपसी र क्षेत्रीय सहयोग, अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र बंगलादेशबीचको सहकार्य लगायत विषयमा छलफल भएको जानकारी दिए।

‘बंगलादेश सरकार नेपालमा उत्पादित जलविद्युत् खरिद गर्न इच्छुक छ, आर्थिक अन्तरनिर्भरताको यो अत्यन्त महत्वपूर्ण आयाम अब कार्यान्वयनको चरणमा रहेको छ,’ उनले भने।

प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमणका क्रममा नेपालले भारतीय भूमि भएर नेपालको जलविद्युत् बंगलादेशमा निर्यात गर्ने सहमति भएको थियो।

‘त्यसलाई यथाशीघ्र औपचारिकता दिई जलविद्युत् निर्यातको ढोका खोल्ने हाम्रो प्रयासले सार्थकता पाउँदै छ,’ उनले भने, ‘बंगलादेशका प्रधानमन्त्रीसँग यस विषयमा अत्यन्त महत्वपूर्ण कुराकानी भएको छ।’

साउन १२, २०८० शुक्रबार १३:२६:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।