श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार तोक्न माग

श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार तोक्न माग

काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसले न्यूनतम पारिश्रमिक बोर्ड मार्फत चाँडो श्रमिकको पारिश्रमिक तोक्न माग गरेको छ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले आज एक विज्ञप्ति जारी गरी नेपालको श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई/दुई वर्षमा त्रिपक्षीय सहमतिका आधारमा निर्धारण हुने व्यवस्था गरेको स्मरण गराए।

उनले सो प्रावधान अहिलेसम्म कार्यान्वयनमा  नभएको जनाउँदै न्यूनतम पारिश्रमिक बोर्डमार्फत पारिश्रमिक तोक्न माग गरेका हुन्।

‘साउनको दोस्रो हप्ता पुगिसक्दा पनि  सरकारको तर्फबाट श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद् कुरा हो, तत्काल न्यूनतम पारिश्रमिक बोर्डको बैठक बोलाएर पारिश्रमिक तोक्न माग गर्दछौं,’ महासचिव राईले भने।

नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक रु २५ हजार तोक्न माग गर्दै प्रधानमन्त्री तथा श्रममन्त्रीलाई जानकारी गराउने, प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्री र  प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने काम गरिसकेको छ।

साउन १२, २०८० शुक्रबार १३:०६:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।