रानी ऐश्वर्यले शल्यक्रिया गर्न पत्याएको वीरको भीभीआईपी क्याबिन ३६ वर्षदेखि रित्तै, गणतन्त्रका भीभीआईपीको छनोट विदेश
काठमाडौं : विशिष्ट र अतिविशिष्ट (भीआईपी तथा भीभीआईपी) उपचारका लागि भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले वीर अस्पतालमा थप ३ वटा नयाँ क्याबिन थप्यो।
वीरमा पहिल्यै यस्ता कक्ष थिए। तर प्रयोगहीन। अस्पतालको पुरानो भवनमा भीआईपी र भीभीआईपीका लागि गरी दुई वटा उपचार कक्ष छन्।
भएका भीईआईपी र भीभीआईपी कक्ष उपयोग हुन सकेको छैन। स्रोत साधन र जनशक्ति पर्याप्त भए पनि वीरमा वर्षौंदेखि यस्ता क्याबिनहरू उपयोगविहीन बनिरहेका छन्। सरकारले पुरानैको प्रयोगको रणनीति नबनाई नयाँ कोठा थप्यो।
वीरको भीभीआइपी कक्षमा ३५ वर्षअघि रानी ऐश्वर्य शाहको उपचार भएको थियो। ऐश्वर्यको शल्यक्रिया वीरमै भए पनि त्यसयता कुनै भीभीआईपीहरूले वीरको भीभीआइपी कक्षको प्रयोग गरेका छैनन्।
वीरले २०७१ सालयता भीआईपी र भीभीआईपी क्याबिनमा भर्ना भएर उपचार गरेकाहरूको रेकर्ड राखेको छ। उकेरालाई प्राप्त रेकर्डअनुसार ९ वर्षयता कसैले पनि भीभीआईपी कक्षमा भर्ना भएर उपचार गराएका देखिएन।
फाट्टफुट्ट रूपमा भीआईपी बिरामी भने भर्ना भएका छन्। २०७१ सालयता ४१ जना भीआईपीहरू वीर अस्पतालको भीआईपी कक्षमा भर्ना भएका छन्।
पछिल्लो समय स्वास्थ्यमन्त्री भवानीप्रसाद खापुङ, स्वास्थ्य राज्यमन्त्री हीराचन केसीलगायत भीआईपी क्याबिनमा भर्ना भएर सेवा लिएका थिए। तर भीभीआइपी भने आएका छैनन्।
किन भर्ना भएकी थिइन् रानी ऐश्वर्य ?
वीर अस्पतालका पूर्वनिर्देशक डा. बुलन्द थापाका अनुसार २०४३/०४४ सालतिर वीर अस्पतालमा रानी ऐश्वर्यको पित्तथैली (गलब्लाडर)को शल्यक्रिया भएको थियो। त्यसबेला डा. थापा वीर अस्पतालमा मेडिकल अधिकृत थिए।
‘ऐश्वर्यको गलब्लाडरको शल्यक्रिया गरेको हो,’ डा. थापाले भने,‘ऐश्वर्यको अप्रेशनपछि कोही पनि वीरको भीभीआईपी क्याबिनमा बसेका छैनन्।’
डा. थापाका अनुसार वीर अस्पतालमा त्यसबेला बेला डा. अञ्जनीकुमार शर्मा नेतृत्वको चिकित्सकको टिमले रानी ऐश्वर्यको पित्तथैलीको शल्यक्रिया गरेको थियो। त्यसैगरी ऐश्वर्यको शल्यक्रियाको संयोजक डा. दिनेशनाथ गंगोल थिए।
ऐश्वर्यको पित्तथैलीको शल्यक्रियाको टिममा डा. मृगेन्द्रराज पाण्डे, डा. सच्चेकुमार पहाडीलगायत चिकित्सकको टिम थियो। ऐनस्थेसियोलोजिष्ट (अपरेशनअघि बेहोस बनाउने) चिकित्सकका रूपमा डा. नरेन्द्र विक्रम राणा थिए। ऐश्वर्यको शल्यक्रिया भएको समयमा आफू वीर अस्पतालमा मेडिकल अधिकृतका रूपमा काम गरेका र रानीको शल्यक्रियामा आफू पनि सहभागी भई खटिएको थापाले उकेरालाई बताए।
‘त्यो बेला म जुनियर मेडिकल अधिकृत थिएँ, रानीको शल्यक्रिया हुँदा म पनि त्यो अप्रेशन थिएटरभित्रै थिएँ,’ डा. थापाले भने,‘करिब दुई घण्टामा रानीको शल्यक्रिया सकिएको थियो।’
शल्यक्रियापछि करिब पाँच दिन वीरको भीभीआईपी कक्षमा बसेर रानी ऐश्वर्य डिस्चार्ज भएको उनी सम्झन्छन्। त्यो बेला वीर अस्पतालमा भएको जनशक्ति र व्यवस्थापनको विश्वासका कारण नै रानी ऐश्वर्यको वीर अस्पतालमा शल्यक्रिया भएको डा. थापा सम्झन्छन्।
‘नेपालका दिग्गज डाक्टरहरू वीर अस्पतालमा नै हुनुहुन्थ्यो,’उनले भने।
त्यसपछि उपचारका लागि कोही भीभीआईपी वीरमा पुगेनन्। भीभीआईपी कक्षको सफाइमा पनि कसैले ध्यान दिएनन्।
लामो समय नखोलिएको भीभीआईपीको उपचार कक्ष २०६७ सालमा आफू निर्देशक भएपछि खोलेर पुनः मर्मत सम्भार तथा रंगरोगन गरेर उपचारका लागि तयारी अवस्थामा राखेको पूर्वनिर्देशक डा. थापाले सुनाए।
यस्तो छ कक्षको सुविधा
भीभीआईपी उपचार कक्षमा सुविधासम्पन्न भान्सा कोठा छ। झुमर, पेन्टिङ र आरामदायी सोफासमेत छन्। भीभीआईपीका परिवारका सदस्य तथा सुरक्षामा खटिने र भेट्न पुग्नेहरूका लागि आरामदायी प्रतीक्षालयसमेत छन्।
तर, वीर अस्पतालमा भीभीआईपीको उपचारका लागि दक्ष जनशक्तिको उचित व्यवस्थापन भने गर्न नसकिएको पूर्वनिर्देशक डा. थापा बताउँछन्।
स्वास्थ्य परीक्षण तथा उपचारका लागि आवश्यक स्रोत साधन तथा उपकरणसमेत राम्रो व्यवस्थापन हुन नसकेकाले बिरामी र उनीहरूका आफन्तले विश्वास नगरेर नआएको उनको तर्क छ।
उनी भीआईपी र भीभीआईपी कक्षको संरचना बनाएर मात्रै नहुने अस्पतालको जनशक्तीदेखि सुविधा समेत सुधार गर्ननुपर्ने उनको धारणा छ।
‘सिस्टम राम्रो छैन, त्यहाँ दक्ष जनशक्ति पनि छैन,’डा. थापाले भने,‘वीर अस्पतालमा त्यो कहिल्यै भएन।’
भीभीआइपी र भीआइपीको उपचार विदेशमै
भीआईपी र भीभीआईपीहरू बिरामी नभएका होइनन्। तर गणतन्त्रपछिका धेरैजसो भीभीआईपीहरू उपचारका लागि विदेश जाने गरेका छन्।
केही शिक्षण अस्पताल, गंगालाल, मनमोहन अस्पताल पुगेका छन्। कतिपय निजी अस्पताल जान्छन्। तर, वीर अस्पतालमा गणतन्त्रपछि एक जना भीभीआईपी पनि भर्ना भएको देखिँदैन।
डा रामवरण यादव दातको उपचार गर्न वीरमा गएका थिए। तर भर्ना नै भएर उपचार गर्नु परेन। विध्या भण्डारी उपचारका लागि विरमा गइनन्। हालै राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो उपचारका लागि भारत गए। उनको थप उपचार शिक्षण अस्पतालमा भयो।
पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापती शेरबहादुर देउवा उपचारका लागि हालसालै विदेशै गए। जानकारस्रोतका अनुसार उनको पाचन प्रणालीमा समस्या देखिएको थियो। अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि विदेशमै उपचार गराए। विदेशमा उपचार गराउने गरेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो मृगौला प्रत्यारोपण भने शिक्षण अस्पताल महाराजगञ्जमा भएको थियो।
भएकै प्रयोगमा छैन तर थपियो तीन कक्ष
बिरामी नआउँदा वीर अस्पतालमा भएका दुई वटा (भीआईपी र भीभीआईपी) कक्ष प्मारयोगमा आउनै सकेको छैन। उता स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले थप तीन वटा त्यस्ता कक्ष सञ्चालनका लागि निर्देशन दिए।
मन्त्रीको निर्देशनपछि गत मंगलबार वीरको सर्जिकल भवनमा थप दुई वटा भीआईपी र एउटा भीभीआईपी कक्ष सञ्चालनमा ल्याइयो। योसँगै वीरमा दुई वटा भीभीआईपी र तीन वटा भीआईपी कक्ष भएका छन्।
मन्त्रीले अनुगमन गरी निर्देशन दिएपछि सर्जिकल भवनमा भीआईपी र भीभीआईपी क्याबिन सञ्चालनमा आएको वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए।
कसले कहाँ उपचार गराए?
पाँच पटकसम्म प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइलालाले २०६६ चैत ७ गते ८५ वर्षको उमेरमा निवासमै देहत्याग गरे। उनकी छोरी सुजाता कोइरालाको घरमा काठमाडौंमा उनको निधन भएको थियो।
त्यसैगरी एक पटक प्रधानमन्त्री भइसकेका कृष्णप्रसाद भट्टराईको २०६७ फागुनमा काठमाडौंको थापाथलिस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा मृत्यु भयो।
पञ्चायतकालका प्रधानमन्त्री मरिचमान श्रेष्ठको पनि २०७० साउनमा नर्भिकमा निधन भएको थियो। क्यान्सरपीडित उनले भारतको मेदान्त अस्पतालमा उपचार गरेका थिए। आफ्नै देशमा प्राण त्याग्ने इच्छा व्यक्त गरेपछि उनलाई भारतबाट एयर एम्बुलेन्सको माध्यमबाट साउन २९ गते नेपाल ल्याइएको थियो।
एक पटक मन्त्रिपरिषदको अध्यक्ष र तीन पटक प्रधानमन्त्री भइसकेका सूर्यबहादुर थापाको २०७२ वैशाखमा ८८ वर्षको उमेरमा निधन भयो। क्यान्सरपीडित उनको भारतको मेदान्त अस्पतालमा उपचार क्रममा निधन भएको थियो।
त्यसैगरी प्रधानमन्त्री भइसकेका सुशील कोइरालाको भने २०७२ माघमा काठमाडौंको महाराजगञ्जस्थित उनकै निवासमा निधन भएको थियो। अर्थात् गणतन्त्रपछि निधन भएका माथि उल्लिखित पूर्वप्रधानमन्त्रीहरू कोही पनि वीरको भीभीआईपी कक्षमा भर्ना भएका थिएनन्।
पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल २०७२ सालमा उपचारका लागि वीर अस्पताल भर्ना भएका थिए। त्यसपछि भने उनी उपचारका लागि वीर अस्पतालमा भर्ना भएको देखिँदैन। एक वर्षअघि पुसमा रुघाखोकी र छातीमा संक्रमण भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएर उनले उपचार गराएका थिए।
त्यस्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको भने २०७८ वैशाखमा वीर अस्पतालमा नै ‘न्यारो–इन्डोक्राइन’को ट्युमरको शल्यक्रिया भएको थियो। उनी पनि उपचारका लागि कहिले भारत त कहिले निजी अस्पताल पुगेका थिए। त्यसयता पनि उनी उपचारका लागि वीरमा भर्ना भएका देखिँदैन।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७६ मंसिरमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। एपेन्डिक्स फुटेर उनको पेटभित्र संक्रमण फैलिएपछि आकस्मिक रूपमा शल्यक्रिया गर्नुपरेको थियो।
त्यसपछि त्रिवि शिक्षण अस्पतालमा २०७६ फागुनमा ओलीको मिर्गौला प्रत्यारोपण भएको थियो। त्यो उनको दोस्रो पटको मिर्गौला प्रत्यारोपण थियो। ओलीले पहिलो पटक २०६४ साउनमा भारतको दिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए। पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेको १२ वर्षपछि उनले दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन्।
त्यसैगरी पूर्वप्रधानमन्त्री झलनाथ खनालले २०७८ साउनमा भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए।
त्यसो त पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि कहिले जापान र अमेरिका त कहिले भारत पुगे। प्रोष्टेट क्यान्सर तथा ग्याष्ट्रिक एस्ट्रोफीसम्बन्धी उपचारका लागि उनी अमेरिका र भारत पुगे। अमेरिकामा उनको प्रोष्टेट क्यान्सरको शल्यक्रिया भएको थियो।
निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पनि नौ महिनाअघि २०७९ असोजमा अस्वस्थ हुँदा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएर उपचार गराएकी थिइन्। त्यो बेला उनलाई रुघा, खोकी र ज्वरो देखिएको थियो। कोरोना पुष्टिएपछि केही दिन शिक्षण अस्पतालमा उपचार गराएर उनी डिस्चार्ज भएकी थिइन्।
राष्ट्रपति रामचन्द्र पौडेल पनि पेट दुख्ने समस्या भएपछि तीन महिनाअघि २०७९ चैत १८ मा त्रिवि शिक्षण अस्पतालमा नै भर्ना भएका थिए। केही दिनको उपचारपछि उनी डिस्चार्ज त भए। तर, डिस्चार्ज भएको केही दिनमा नै अस्वस्थ भएर श्वासप्रश्वासमा समस्या निम्तिएपछि गत वैशाख ५ गते पुनः त्रिवि शिक्षण अस्पतालमा नै भर्ना भएका थिए।
त्यहाँ भर्ना भएकै समयमा उनलाई फोक्सोमा समस्या देखिएपछि गत वैशाख ६ गते एयर एम्बुलेन्समार्फत उपचारका लागि भारत लगिएको थियो। भारतको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार गरेर उनी वैशाख १७ मा स्वदेश फर्किएका थिए।
भारतबाट उपचार गरेर फर्किएपछि राष्ट्रपति पौडेल फेरि अस्वस्थ भए। मुटुमा समस्या देखिएकाले उनलाई जेठ ३० गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरियो। अस्पताल भर्ना भएको भोलिपल्ट जेठ ३१ गते उनी गंगालालबाट डिस्चार्ज भएका थिए।
तर, डिस्चार्ज भएको दुई दिनमा नै पुनः स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई असार २ गते त्रिवि शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। उनको मुटुमा पेसमेकर राखियो। उपचारपछि राष्ट्रपति पौडेल असार १३ गते अस्पतालबाट डिस्चार्ज भएका थिए।
त्यसैगरी ५ पटक प्रधानमन्त्री भइसकेका निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि जेठ ३१ मा नियमित स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गए।
यस्तो छ मर्यादाक्रम
सरकारले जारी गरेको मार्यादाक्रमअनुसार राष्ट्रपति मर्यादाक्रमको पहिलो नम्बरमा पर्छन् भने उपराष्ट्रपति दोस्रो नम्बरमा पर्छन्।
त्यसैगरी प्रधानमन्त्री तेस्रो र प्रधानन्यायाधीश चौथो मर्यादाक्रममा पर्छन्। त्यस्तै प्रतिनिधि सभाका सभामुख पाँचौं र राष्ट्रिय सभाका अध्यक्ष मार्यादाक्रमको छैटौँ नम्बरमा पर्छन्।
यी ६ वटा पदमा रहेका व्यक्ति अतिविशिष्ठ अर्थात भीभीआईपी हुन्।
त्यसैगरी पूर्वराष्ट्रपति सातौं, उपप्रधानमन्त्री आठौं, पूर्वउपराष्ट्रपति नवौं, पूर्वप्रधानमन्त्री दशौं र मन्त्रिपरिषदका पूर्वअध्यक्ष ११ औं नम्बरको मर्यादाक्रममा पर्छन्।
यी व्यक्ति विशिष्ठ अर्थात् भीआईपीमा पर्छन्।
प्रदेश प्रमुख, नेपाल सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रतिनिधि सभाका सदस्यलगायत विशिष्ठ अर्थात् भीआईपीमा पर्छन्।
वीर अस्पतालमा भर्ना भएका केही भीआईपीको सूची
साउन १२, २०८० शुक्रबार १३:०८:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।