जे भए पनि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रचण्ड

जे भए पनि प्रधानमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन्।

इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताए। 

उनले भने, ‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो होइन। प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीलाई राम्रोसँग स्पष्टीकरण दिने मौका नदिइ राजीनामा देऊ नत्र सदन चल्न दिंदैनौं भनेर घोषणा गर्ने यो संस्कारले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन।’ 

उनले यस विषयमा उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर प्रष्ट पार्ने समेत बताए।

यस्तै देशव्यापी रूपमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको तर्फबाट आवश्यक मेहनत गरिएको उनले जानकारी दिए।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको छलफलमा पनि सो रोग नियन्त्रणका लागि आवश्यक पहल गरिएको र लाखौं पशु चौपायालाई खोप लगाइएको बताए।

प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागिता आफैंमा महत्त्वपूर्ण रहेको उनले बताए।

विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

साउन १२, २०८० शुक्रबार ११:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।