'मैले स्टार किडको फाइदा कहिल्यै उठाइनँ, मुख्य फिल्म गर्नुअघि तीन वटा फिल्ममा सहायक भूमिका गरेँ'

'मैले स्टार किडको फाइदा कहिल्यै उठाइनँ, मुख्य फिल्म गर्नुअघि तीन वटा फिल्ममा सहायक भूमिका गरेँ'

द नाइट म्यानेजरको सफलतापछि बलिउड अभिनेता आदित्य रोय कपुर चर्चामा छन्।

हालै फिल्मफेयरमा दिएको एक अन्तर्वार्तामा आदित्यले नातावादको कुरा गरेका थिए। आदित्यले पनि आफूलाई 'नेपो किड' भएको फाइदा उठाउने जस्ता आरोपको जवाफ दिए।

आदित्यले आफ्नो करियरमा नेपो किड हुनुको कुनै भूमिका नरहेको र आफ्नो यात्रा आफैले तय गरेको बताए। आदित्य रोय कपुर फिल्म निर्माता सिद्धार्थ रोय कपुरका कान्छा भाइ हुन्। 

फिल्मफेयरलाई दिएको अन्तर्वार्तामा आदित्यले भने, ‘मलाई लाग्छ कि मानिसहरूले मेरोबारे राम्ररी जान्दछन् कि मैले मेरो यात्रा आफैं तय गरेको छु। मैले मेरा दाजुभाइसँग कुनै सरोकार नभएका चलचित्रमा सहायक भूमिकामा काम गरेको छु। मेरो धेरैजसो यात्रा जनतालाई थाहा छ, मानिसहरूले मेरो करियरमा बिस्तारै प्रगति गरेको देखेका छन्। पहिलो पटक फिल्ममा मुख्य भूमिका निर्वाह गर्नुअघि मैले तीन वटा सहायक भूमिका निर्वाह गरेको थिएँ।' 

फिल्ममा कास्टिङ गर्दा अडिसन र रिजेक्टको सामना गर्नुपर्ने कुरा गर्दै आदित्य रोय कपुरले अभिनेता बन्न चाहेको अवस्थामा कुनै न कुनै बेला रिजेक्टको सामना गर्नुपर्ने बताएका थिए। 

उनले भने, 'मैले अडिसनको सुरुमा धेरै पटक अस्वीकारको सामना गरेको छु। म विभिन्न कुराका लागि अडिसनका लागि जान्थें तर त्यतिबेला मलाई अभिनेता बन्ने इच्छा थिएन। त्यसपछि म आरजे भएँ र आफ्नो काममा खुसी थिएँ। मलाई फिल्ममा खासै रुचि थिएन, यो सबै भाग्यको कुरा थियो।

साउन १२, २०८० शुक्रबार ०८:३२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।