फिल्मको कथामा बालेनको प्रभाव, राजनीतिक विषयका तीन फिल्म आउँदै, कथा, कलाकार र लोकेशन एकै-एकै !
काठमाडौँ : कसैको चिया दोकान चले वरिपरि नै चिया दोकान खोल्नु सामान्य दृश्य हो नेपालको। न अध्ययन चाहियो नै ग्राहकको मूल्याङ्कन। त्यसको त चलेको छ मेरो किन नचल्ने भन्यो खोल्यो। पछि पुर्पुरोमा हात हुनु त छदै छ।
नेपाली फिल्मको कथावस्तुमा पनि यस्तै चिया दोकानको पारा भन्दा कम छैन। सुदूरपश्चिमको एउटा कथा दर्शकले मन पराए भने लाइन लाग्छन् त्यस्तै फिल्मको। ठाउँ एकै भए पनि कथा फरक बनाउन सकिन्छ नि। फरक-फरक फिल्मको नि ट्वाक्कै कथा एकै भएका पनि आए।
पछिल्लो समय राजनीतिक विषयमा निर्माता अनि निर्देशकको मन लोभिएको छ। एउटा मात्रै निर्माताको मन लोभिए त हुन्थ्यो नि। तर सबैको आँखा त्यसैमा पर्ने।
छक्कापन्जा ४, प्रसाद २ मा पनि राजनीति मिसाइयो। छक्कापन्जा सफल भयो। प्रसादले पानीसम्म भन्न भ्यायो।
अहिले राजनीति मिसिएको तीन फिल्म प्रदर्शनको लाइनमा छन्। यी तीनै फिल्मको कथावस्तुबारे जानकारको दाबी अनुसार तीनवटैको कथा एकै खालको छ। कलाकार पनि दोहोरिए नै लोकेसन पनि दोहोरिएको छ।
पहिलो फिल्म हो ऐँचो पैँचो। यसको टिजर अनुसार यो पनि राजनीतिमा केन्द्रित देखिन्छ। स्वस्तिमा खड्का, मुकुन भुसाल, वर्षा राउत, सुशील सिटौला, बुद्धि तामाङ लगायतका कलाकार छन् यसमा। यो भदौ १४ मा रिलिज हुँदैछ। छायाङ्कन काभ्रेको पनौतीमा भएको हो।
अर्को फिल्म हो नाङ्गो गाउँ। दीपेन्द्र लामाको निर्देशनमा बनेको यो फिल्म पहाडी पोलटिक्समा केन्द्रित देखिन्छ। काभ्रेमा फिल्म खिचिएको हो। यो भदौ २९ मा रिलिज हुँदैछ। यसमा दयाहाङ राई, शिशिर वाङदेल,मिरुना मगर, साम्राज्ञी अनि बुद्धि तामाङ लगायत कलाकारको अभिनय छ।
तेस्रो फिल्म हो दिमाग खराब। निश्चल बस्नेतको निर्देशनमा सुटिङ सक्किएको यसको कथा पनि राजनीति। निश्चल बालेन शाहको फ्यान। कथामा पक्कै बालेनको प्रभाव त परेको होला नै। निश्चलले जनता भर्सेज् शक्ति फिल्मको मूल थिम रहेको खुलाई सकेका छन्।
कात्तिक २४ रिलिज डेट तोकेको फिल्ममा उहीँ दयाहाङ राई अनि स्वस्तिमा खड्का छन्। खगेन्द्र लामिछाने, अर्पण थापा, विजय बरालको समेत अभिनय छ। फिल्म काभ्रेको पाँचखालमा सुटिङ गरिएको थियो।
कलाकारको आधारमा दिमाग खराब अलि हेविवेट देखिन्छ। तर दयाहाङ र स्वस्तिमा दोहोरिएका छन्। अर्को बुद्धि तामाङ दोहोरिएका छन्।
कालीप्रसाद बास्कोटा अन्तकै सङ्गीतबाट प्रभावित भएर ठ्याक्कै उस्तै गीत नबनाइदिए मेलोडीमा पनि दिमाग खराब राम्रो बन्न सक्छ। तर यो अन्य दुई फिल्मपछि रिलिज हुने भएकाले जोखिम भने छ।
दीपेन्द्र लामा सोसल ड्रामामा निश्चलभन्दा अनुभवी निर्देशक हुन्। यसको प्रभाव फिल्म मेकिङमा पर्छ नै। फिल्म निर्माणबाट कृषा चौलागाई निर्देशक भएकी छिन् ऐँचो पैँचोमा।
तै पनि ठ्याक्कै कथाको प्याट्रन उस्तै भए त तीन वटा फिल्मले दर्शकको दिमाग खराब गराउने त हो।
साउन १२, २०८० शुक्रबार ०२:०७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।