सय किलो सुन तस्करीमा जोडिएको रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेलापर्यो

सय किलो सुन तस्करीमा जोडिएको रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेलापर्यो

काठमाडौं : राजस्व अनुसन्धान विभागको टोलीले बिहीबार काठमाडौंको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ।

विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो। ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए।

‘हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, यद्यपि अन्य विषयमा भने अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ’, विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए।

साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै सय किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो।

विभागले अन्य शङ्कास्पद क्षेत्रमा पनि छापा मार्ने र संलग्नको आशङ्का गरिएको व्यक्ति खोजि गरिरहेको छ। विभागले उक्त सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

बरामद गरिएको सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ।

साउन ११, २०८० बिहीबार १९:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।