कोशी प्रदेशको अहिलेको मुख्यमन्त्री म : हिक्मत कार्की

कोशी प्रदेशको अहिलेको मुख्यमन्त्री म : हिक्मत कार्की

काठमाडौं : कोशी प्रदेशको एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले प्रदेशको कार्यकारी मुख्यमन्त्री आफू भएको दाबी गरेका छन्।

सञ्चारकर्मीसँगको कुराकानीमा नेता कार्कीले सर्वोच्चको फैसलाले आफू नै कोशी प्रदेशको मुख्यमन्त्री भएको स्पष्ट पारेका दाबी गरे।

‘असार २० गते जुन सरकार थियो, त्यहि सरकार अर्को सरकार नबनुन्जेलसम्मका लागि निरन्तर भयो,’ उनले भने, ‘अहिलेको कोशी प्रदेशको मुख्यमन्त्री म भन्ने आजको फैसलाले फेरि देखाएको छ।’

कार्कीले अब एमालेको नेतृत्वमा सरकार बनाउने र त्यसका लागि सबै दलसँग औपचारिक छलफल गर्ने बताए। उनले मध्यावधि निर्वाचमा जान नदिने प्रतिवद्धतासमेत व्यक्त गरे। यद्यपि कसरी भन्नेबारेमा भने खुलाएनन्।

‘दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको अवस्थामा ठिकै छ, नभए १७ गतेपछि त एमालेको नेतृत्व नै हो,’ उनले थपे, ‘मध्यावधिमा जान दिँदैनौं।’

बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको समर्थन र नियुक्ति संविधानप्रतिकुल भएको भन्दै उत्प्रेषणको आदेशले बदर गर्दै साउन १७ गतेभित्र बहुमत प्राप्त सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको थियो।

यदि त्यसो नभएमा संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो।

साउन ११, २०८० बिहीबार १९:२६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।