नाइजरमा राष्ट्रपतिलाई बन्दी बनाएर सेनाद्वारा सत्ता कब्जा

नाइजरमा राष्ट्रपतिलाई बन्दी बनाएर सेनाद्वारा सत्ता कब्जा

एजेन्सी : पश्चिम अफ्रिकी मुलुक नाइजरमा सैनिक विद्रोह भएको छ।

सेनाको एक टोलीले राष्ट्रिय टेलिभिजनबाट विद्रोहको घोषणा गर्दै राष्ट्रपतिलाई अपदस्त गरेको दाबी गरेको छ।

राष्ट्रपति मोहम्मद बाजुमलाई बुधबार बिहानैदेखि सेनाले नियन्त्रणमा लिएको छ भने देशको संविधान विघटनका साथै सबै संस्था निलम्बन गरिएको घोषणा पनि गरेको छ।

सेनाले देशको सिमाना बन्द गरेको बताएको छ। राजधानी नियामेस्थित राष्ट्रपतिको निवास र कार्यालयसम्म जाने बाटो बन्द गरिएको छ।

बन्दी बनाइएका राष्ट्रपतिलाई रिहा गर्न सेनाले अस्वीकार गरेको छ। गए राति १० बजेदेखि अर्को सूचना नभएसम्मका लागि ‘कर्फ्यू’ आदेश जारी गरिएको छ।

‘हामी रक्षा र सुरक्षा बलहरूले राष्ट्रपति बाजुमको शासनको अन्त्य गर्ने निर्णय गरेका छौं,’ अन्य नौ जना वर्दीधारी सैनिकबाट घेरिएका कर्णेल अमाडो अब्द्रामानेले बुधबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गरे।

विश्व तथा क्षेत्रीय नेताहरूले बाजुमलाई रिहा गर्न आह्वान गरेका छन्। दुई वर्ष अघि उनले नाइजरको सत्ता सम्हालेका हुन्।

राष्ट्रपति र उनको परिवार सकुशल रहेको सेनाले बताएको छ । 

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले सैन्य विद्रोहको निन्दा गर्दै राष्ट्रपति बाजुमलाई निःशर्त तत्काल रिहा गर्न आह्वान गरेका छन्।

अफ्रिकी सङ्घ र युरोपेली सङ्घले पनि सैन्य विप्लवको विरोध गर्दै राष्ट्रपति बाजुमको रिहाईको माग गरेका छन्।

साउन ११, २०८० बिहीबार १८:५४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।