नेपालीले एक वर्षमा खाए एक अर्ब ६२ करोडको केरा
काठमाडौं : गत आर्थिक वर्ष २०७९/८० मा १६ अर्ब रुपैयाँभन्दा बढीको फलफूल आयात भएको छ। कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको हो।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आवमा नेपालीले केरा मात्र रु एक अर्ब ६२ करोड ७३ लाख बढीको खाएका छन्।
कूल पाँच करोड ३३ लाख ९४ हजार सात सय ९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ।
विभागका अनुसार गत आवमा सात अर्ब नौ करोड बढीको आठ करोड ३२ लाख ७४ हजार केजी स्याउ आयात भएको छ। सार्वजनिक विवरण अनुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ।
त्यस्तै एक वर्षमा रु दुई अर्ब १५ करोड बढीको तीन करोड नौ लाख केजी ताजा अंगुर आयात भएको छ।
त्यसैगरी रु ८८ करोड बढीको सुन्तला, १३ करोड बढीको भुइँकटहर, नौ करोड बढीको एभोगाडो र सात करोड बढीको किबी आयात भएको छ।
साउन ११, २०८० बिहीबार १७:२०:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।