आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न सरकार लागिपरेको छ : स्वास्थ्यमन्त्री बस्नेत
धनुषा : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले संविधान प्रदत्त आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क गर्न सरकारले काम गरिरहेको बताएका छन्।
धनुषा पुगेका मन्त्री बस्नेतले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने सरकारको नीतिअनुसार मन्त्रालयले काम गरिरहेको बताए।
उनले मन्त्रालयले ६ महिनाभित्र नेपालको स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान हुनेगरी काम गरिरहेको दावी समेत गरे।
‘स्वास्थ्य मन्त्रालयले पहिलो पटक निजी तथा सरकारी अस्पतालमा गरी तीन हजार २५ शय्या गरिब तथा विपन्न वर्गका लागि निःशुल्क छुट्याउने काम गरिसकेको छ,’ उनले भने, अस्पतालले १० प्रतिशत शय्या निःशुल्क छुट्याउने नियम कडाइपूर्वक पालना गराइनेछ।’
मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रको विकासका लागि पनि सरकारले काम गरिरहेको मन्त्री बस्नेतले बताए। उनले हाल नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा किड्नी प्रत्यारोपण सेवा सुरु गर्न र जनकपुरधाममा मुटुसम्बन्धी रोगका सबै प्रकारका उपचारका लागि गङ्गालाल हृदय रोग केन्द्रको शाखालाई बलियो बनाउने काम भएको जानकारी दिए।
साउन ११, २०८० बिहीबार १६:५८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।