महोत्तरी पुगेर गृहमन्त्रीको निर्देशन : आवश्यक समन्वय गरेर मिटरब्याज पीडितलाई न्याय दिनुस्

महोत्तरी पुगेर गृहमन्त्रीको निर्देशन : आवश्यक समन्वय गरेर मिटरब्याज पीडितलाई न्याय दिनुस्

बर्दीबास : गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सीडीओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिहरूलाई शान्तिसुरक्षा एवं समसामयिक सेवा तथा वितरण चुस्त बनाउन आवश्यक निर्देशन दिएका छन्।

बिहीबार महोत्तरी पुगेका उपप्रधानमन्त्री समेत रहेका श्रेष्ठले मिटरब्याज (अनुचित लेनदेन) पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन समेत निर्देशन दिए। 

‘मिटरब्याज सम्बन्धी कानुन सकभर आज नै राष्ट्रिय सभाबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा जानेछ,’ उनले भने, ‘एकातिर कानुन छ, एकातिर आयोग छ, एकातिर तपाईंहरू हुनुहुन्छ। सकेसम्म अहिले नै आवश्यक समन्वय गरेर पीडितलाई न्याय दिनुहोस्।’

उनले नेपाल-भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पुर्याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिए। तर वास्तवमै जनताको दैनिक आवश्यकता र व्यापारिक उद्देश्य के हो त्यसलाई दुई पाटोबाट हेर्न उपप्रधानमन्त्री श्रेष्ठले सुझाव दिए।

‘दैनिक व्यवहारिक आवश्यकता टार्न सामान ल्याउने कुरामा लचक हुनुहोस् र व्यापारिक प्रयोजनमा ल्याएको भए कडाइ गर्नुहोस्,’ उनले भने। मलको हकमा पनि यहाँका किसानले आफ्नै प्रयोजनका लागि ल्याएको भए लचक हुन पनि उनले निर्देशन दिए।

साउन ११, २०८० बिहीबार १६:४२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।