हरिदेवीका हिजोका कुरा : फलानाको छोरा हेर्नुपर्छ र भनेर दुलाहाको मुखै देखाएनन्
नेपाली लोकगीतसंगीतकी किन्नरी हुन् साहित्यकर एवम् गायिका हरिदेवी कोइराला।
उनले गाएका थुप्रै गीतहरू कालजयी बनेका छन्। हरेक वर्षको तीजमा उनका गीतहरूले रेडियो तथा टेलिभिजनमा गुञ्जिने गरेका छन्।
हालको पोखरा उपमहानगरपालिका-६ वैदाममा २०१५ चैत्र १७ गते जन्मिएकी हरिदेवी विद्यालय तहदेखि नै साहित्य लेखन र गायनमा रुचि राख्थिन्।
उनको पहिलो गीत २०४२ सालमा ‘पाइनँ खबर’ रेकर्ड भएको थियो। उनको यो पहिलो गीत नै अत्यधिक लोकप्रिय भएको थियो। यो गीत समावेश एल्बम निर्माणमा पाँच हजार रुपैयाँ खर्च भएको हरिदेवी बताउँछिन्।
हरिदेवीलाई रेडियो नेपालमा गीत रेकर्ड गराउन प्रेमराजा महत र बमबहादुर कार्कीले ठूलो भूमिका छ।
उनले थाहा पाउँदासम्म कतिपय अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठाउँदैनथिए। त्यतिबेला सबैले खेतीपाती नै गर्नुपर्छ भन्ने थियो।
तर, हरिदेवीको परिवारले भने छोरीलाई पनि पढायो। उनले आईएसम्मको अध्ययन पूरा गरिन्।
आफ्नो विवाह, घर परिवार र उनको बिताएको बाल्यकाल र त्यसबेलाको परिवेश उकेराको 'हिजोका कुरा'सँग साटेकी छन्।
बाल्यकाल
पोखराको लेक साइडमा उनको घर थियो। 'गाइने दाइहरू घरमै आएर गीत गाउने गर्थे, मेलापात जाँदा दिदीहरूले गीत गाएको सुन्थ्यौँ,' हरिदेवी भन्छिन्, 'घरमा हजुरआमाले पनि बेलाबेला गीत गुनगुनाउनुहुन्थ्यो।'
हरिदेवी थप्छिन्, ‘फेवातालको वरपर ठूल्ठूला खेतबारी थिए, त्यहाँ धान रोप्ने पानी लगाउने कामहरू हुन्थ्यो, आमा हजुरआमा र छिमेकीहरू भेला भर्दा गीत गाउनुहुन्थ्यो। उहाँहरूले गाएको सुनेपछि म पनि मन मनै गुनगुनाउँथेँ।’
बाल्यकाल सम्झिँदै हरिदेवी भन्छिन्, ' हाम्रो घरमा ठूलो रेडियो थियो। त्यसमा गीत बजेको सुन्दा मिलाई पनि गीत गाउँगाउँ लाग्थ्यो। घरभरि गाईवस्तु हुन्थे, गोठालो जाने, घाँस दाउराको भारी बोकेर घरमा ल्याउने पनि गरिन्थ्यो।'
उनले ५० वर्ष अघिका कुरा सम्झँदै भनिन्,‘मैले त्यो समयमा गाई दुहुने, घाँस काट्ने,सबै काम गरेको थिएँ। मैले नगरेको भन्ने घरायसी काम केही पनि थिएन।’
उनका घरमा घोडाहरू पनि पालिका थिए। 'घोडा चढेर हजुरबुबा सिकार खेल्न जानुहुन्थ्यो। हजुरबुबा त्यो बेलामा ठूलो सिकारी हुनुहुन्थ्यो।' हरिदेवीले थाहा पाउँदा उनका हजुरबुबा ६ महिना सिकार खेल्न र ६ महिना घरमा बस्ने गर्दथे।
हजुरबुवाले त्यो समयमा औषधि हुन्छ भनेर बाघ मारेर ल्याएको प्रसंग उनले सुनाइन्। ‘मेरो हजुरबुबा बाघ, भालु,घोरल,चित्रा लुइँचे,कालिज’हरू मारेर घरमा लिएर आउनुहुन्थ्यो। अनि गाउँभरि बाँडिदिनुहुन्थ्यो,' उनले भनिन्।
मुखै नहेरी विवाह, ५१ जना जन्ती
२०३४ सालमा हरिदेवीको विवाह भएको हो। त्यतिबेला ५१ जनाभन्दा बढी जन्ती लैजान नपाइने नियम भएको हरिदेवी बताउँछिन्। उनको विवाहमा पण्डितसहित ५१ जना आएका थिए।
'मेरो दिउँसोको विवाह भएकाले फोटो खिच्ने क्यामेरामेनले मेरो विवाह खिचेर अर्को विवाहमा गएको मलाई याद छ।’
उनका कान्छा बुवा (काका) त्यसबेलाका प्रधानपञ्च थिए। असल परिवार भएकाले निमयअनुसार नै जन्ती आएका उनी बताउँछिन्।
त्यस समयमा जन्तीलाई टपरीमा भोज खुवाउने चलन भए पनि उनको विवाहमा भने खण्डेथालमा दिइएको थियो। विवाहमा पहिलो पटक थालमा भतेर दिएको भनेर सबैतिर चर्चा भएको हरिदेवी बताउँछिन्।
भन्छिन्, ‘अहिलेजस्तो तडकभडक खालको बिहे त्यतिबेला हुँदैनथियो। एकदमै सामान्य खालको विवाह हुन्थ्यो।’
त्यस्तै आफूले थाहा पाउँदा सुनको मूल्य पनि तोलाको जम्मा ६ सय मात्र थियो। उनको विवाहमा भने बढेर ९ सय रुपैयाँ पुगेको हरिदेवी बताउँछिन्।
श्रीमानको अनुहार नै नहेरी विवाह गरेकी हरिदेवी भन्छिन्,‘फलानाको छोरी फलानाको छोरा के हेर्नुपर्छ र ? भनेर मेरो विवाह गरिदिएका थिए।’
५ हजारमा एल्बम तयार, पारिश्रमिक १५० रुपैयाँ
५० वर्षभन्दा लामो समय साहित्य र गायनमा बिताइसकेकी हरिदेवीले ८०० भन्दा बढी गीत गाएकी छन्। उनका अहिलेसम्म ८० भन्दा बढी एल्बम सार्वजनिक भइसकेका छन्।
आफ्नो पहिलो एल्बम ‘पाइन खबर’ उनले २०४० सालमा ल्याएकी हुन्। जुन एल्बममा ८ वटा गीत समावेश छन्। उनका अनुसार यो गीत रेकर्ड गर्दा पाँच हजार खर्च भएको थियो।
हरिदेवी भन्छिन्, ‘मैले मेरो पेसालाई व्यापारिक हिसाबले कहिल्यै हेरिनँ, मैले पहिलो पटक रेडियोमा गीत गाएर पाएको पारिश्रमिक भनेको १५० रुपैयाँ थियो। हामीले छोडेर गएपछि हाम्रा पुस्ताले हाम्रो मौलिकपनलाई संरक्षण गरिदिऊन् भन्ने हिसाबले लागेको छु। सांकृतिक चिन्तन,सांस्कृतिक भावले मात्र मैले काम गरेकी छु। यीबाहेक व्यावसायिक हिसाबले मैले कहिल्यै पनि गीत रिलिज गरिनँ।’
लोकगायक प्रेमराजा महत हरिदेवीका श्रीमान् (रामबहादुर कोइराला) मामा हुन्। नाता भएकाले पनि उनलाई रेडियो नेपालसम्म पुर्याउन प्रेमराजाले सघाएका थिए।
हरेक वर्ष तीजको छेको पारेर हरिदेवीका गीतहरू आउने गर्छन्। उनले यस वर्ष पनि दुई वटा तीज गीत र ४ वटा लोकगीत ल्याएको बताइन्। उनका अनुसार आफ्ना थुप्रै गीत रेकर्ड भएर बजारमा आउन बाँकी छन्। तिनलाई विस्तारै ल्याउने उनले योजना बनाएकी छन्।
गायनदेखि शिक्षिका
बिहेअघि हरिदेवीले तालबाराही हाइस्कुलबाट एसएलसी पास गरेकी थिइन्। विवाहपछि पनि उनले पढाइलाई निरन्तता दिइन्। आईए पास गरेपछि उनी डिप्लोमा तहमा भर्ना भइन्। तर घरायसी काम धेरै भएकाले अध्ययन पूरा गर्न सकिनन्।
साहित्य सिर्जनमा समेत लागेकी हरिदेवी कवि पनि हुन्। उनका केही कवितासंग्रह पनि प्रकाशन भएका छन्। ‘मैले २०४५ सालमा ‘मेरो देशको छातिभित्र दुखेजस्तो लाग्छ’कविता संग्रह प्रकाशित गरेको थिएँ। त्यसपछि मैले ५१ सालमा तरंग भन्ने कविता संग्रह निकाले। त्यसपछि ५९ सालमा ‘मेरो न घाम भर्यो न जुन झर्यो’ प्रकाशित गरेको थिएँ। जुन अधिकांशले मन पराइदिनुभएको थियो।’
उनका झण्डै एक दर्जन कविता तथा गीतिसंग्रह प्रकाशित भइसकेका छन्।
उनले संगीत नाट्य प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सभासद् भएर काम गरेकी छन्। हरिदेवी साहत्य-सम्मान कोषकी संरक्षकसमेत रहेकी उनी दर्जनौँ संस्थामा आबद्ध छिन्।
पोखराकै नवीन माध्यमिक विद्यालयमा शिक्षिकाको रूपमा २६ वर्ष काम गरेर उनले अवकाश लिएकी थिइन्।
साउन ११, २०८० बिहीबार १६:५५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।