कोशीका सभामुख र प्रदेश प्रमुखले संविधानविपरीत काम गरेको सर्वोच्चको ठहर
काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशका सभामुख बाबुराम गौतम र प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानविपरीत काम गरेको ठहर गरेको छ।
न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुख गौतमले संविधान प्रतिकुल काम गरेको ठहर गर्दै त्यसलाई बदर गरिदिएको छ।
असार २१ गते कोशीका सभामुख गौतमको हस्ताक्षर गरी समर्थन जनाएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेपाली कांग्रेसका नेता उद्धव थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
सर्वोच्चले सभामुख र प्रदेश प्रमुख दुवैको कार्यलाई संविधानविपरीत भएको ठहर गर्दै बदर गरेको छ।
आदेशमा भनिएको छ, ‘मुख्यमन्त्री पदमा प्रत्यर्थी मध्येका श्री उध्दव थापालाई नियुक्तिका लागि प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको दावीपत्रमा प्रत्यर्थी मा. सभामुख श्री बाबुराम गौतमले हस्ताक्षर गरी जनाउनुभएको समर्थन, यसरी पेश भएको त्रुटिपूर्ण दावीपत्रलाई मान्यता दिई प्रदेश प्रमुखबाट श्री उध्दव थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा मिति २०८० असार २१ मा गरिएको नियुक्ति र तत्सम्बन्धमा भए गरिएका काम कारवाहीहरू नेपालको संविधान प्रतिकूल देखिएकाले उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ।’
अब त्यहाँ सात दिनभित्र पुनः संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत प्राप्त सांसदलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा सर्वोच्चले परमादेश दिएको छ।
साउन ११, २०८० बिहीबार १६:२६:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।