सबै मन्त्रालयका सूचना एउटै वेबसाइटबाट दिने तयारी भइरहेको छ : सञ्चारमन्त्री शर्मा

सबै मन्त्रालयका सूचना एउटै वेबसाइटबाट दिने तयारी भइरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सूचना प्रवाहलाई एकद्वार प्रणालीबाट व्यवस्थित गर्नुपर्ने बताएकी छन्।

संवैधानिक निकाय, संघीय मन्त्रालय तथा केन्द्रीय निकायका प्रवक्ता र सूचना अधिकारीहरुको अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना प्रवाहमा एकरूपता ल्याउन एकद्वार प्रणाली आवश्यक रहेको बताइन्।

‘आम जनताले हरेक मन्त्रालयका वेबसाइट हेरेर सूचना पाउने अवस्था झन्झटिलो हुन्छ। त्यसैले सबै मन्त्रालयका वेबसाइट सूचना तथा प्रसारण विभागको वेबसाइटमा एकीकृत गरेर त्यसमार्फत सूचना प्रवाह गर्ने तयारी थालिएको छ,’ उनले भनिन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेकी शर्माले सूचनाको हक नागरिकको मौलिक भएकाले सही सूचना समयमै प्रवाह गर्नु राज्यका हरेक निकायको दायित्व भएको बताइन्।

सबै मन्त्रालयका गतिविधिको दैनिक रिपोर्टिङ हुने र त्यससम्बन्धी सूचना एकद्वार प्रणालीबाट प्रवाह हुँदा नागरिकलाई सूचना लिन सजिलो हुने र सरकारको प्रभावकारिता पनि थप स्थापित हुँदै जाने मन्त्री शर्माको धारणा छ। 

हरेक मन्त्रिपरिषद् बैठकका निर्णयहरू सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी भोलिपल्ट सार्वजनिक गर्ने परिपाटी रहे पनि त्यसमा सम्बन्धित मन्त्रालयका प्रवक्ताको उपस्थिति नहुँदा विस्तृत सूचना सार्वजनिक गर्न कठिनाइ हुने गरेको उनले बताइन्। 

छलफलमा मुख्य सचिव डा. वैकुण्ठ अर्यालले हरेक मन्त्रालय र निकायले सूचनाको अभिलेखन गरी सार्वजनिक गर्नुपर्ने बताए। उनले सूचना दिन नडराउन पनि सबै प्रवक्ता र सूचना अधिकारीहरुलाई निर्देशन दिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सरकारले गरेका कामको जानकारी जनताले तत्काल पाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि सरकारका प्रवक्ता र सूचना अधिकारीहरु सक्रिय रहनुपर्ने बताए।

साउन ११, २०८० बिहीबार १६:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।