कोशीका प्रदेश प्रमुखलाई सर्वोच्चको परमादेश- नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्नू
काठमाडौं : सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न परमादेश दिएको छ।
सभामुखको समर्थनमा मुख्यमन्त्री नियुक्ति हुनुलाई असंवैधनिक ठहर गर्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले प्रदेश प्रमुखको नाममा पुनः नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न परमादेश दिएको हो।
आदेशमा साउन १७ गतेभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत पाउने दलको नेतालाई मुख्यमन्त्री बनाउन भनिएको छ। यदि त्यसो सम्भव नभए अर्को उपधारामा जान आदेश दिइएको छ।
आदेशमा भनिएको छ- ‘आजका मितिले सात दिनभित्र (२०८०/४/१७ गतेभित्र) नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नु भनी प्रत्यर्थी कोशी प्रदेश प्रदेश प्रमुखसमेतको नाममा परमादेश जारी हुने ठहर्छ।’
यसको मतलब, अब प्रदेश प्रमुखले पुनः संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनको आह्वान गर्नेछन्। यसरी कुनै पनि दलले बहुमत जुटाउन नसकेमा उपधारा ३ मा जान भनिएको छ।
साउन ११, २०८० बिहीबार १६:०६:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।